ब्रेकिङ न्युज

तथ्यांकमा अर्थतन्त्र बलियो भनिए पनि जनजीवनमा किन छैन असर ?

२६ जेठ, काठमाडौं । नेपालको अर्थतन्त्रका अधिकांश सूचकहरू अहिले बलियो अवस्थामा देखिए पनि आर्थिक गतिविधि र बजार चलायमान हुन भने सकेको छैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, चालु खाता र बाह्य क्षेत्रका सूचकहरू ऐतिहासिक रूपमा मजबुत बनेका छन्। वैशाख मसान्तसम्म देशको विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब रुपैयाँ नाघेको छ, जुन हालसम्मकै उच्च स्तर हो।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा १९ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर नयाँ रेकर्ड बनेको छ।

तर अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक देखिए पनि निजी क्षेत्रको कर्जा विस्तार सुस्त छ। बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा वृद्धिदर घटेर ५.७ प्रतिशतमा सीमित भएको छ। बजारमा माग कमजोर हुँदा व्यवसाय विस्तार र लगानी गतिविधि अपेक्षाअनुसार बढ्न नसकेको देखिएको छ।

यसैबीच उपभोक्ता मूल्यवृद्धि पनि बढेर ५.०४ प्रतिशत पुगेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले महँगी बढाउन योगदान दिएको राष्ट्र बैंकको निष्कर्ष छ।

अर्थतन्त्रका बाह्य आधारहरू मजबुत भए पनि उत्पादन, लगानी र उपभोगजस्ता आन्तरिक गतिविधिमा अपेक्षित सुधार नआएकाले अर्थतन्त्रले पूर्ण गति लिन नसकेको संकेत राष्ट्र बैंकको तथ्यांकले दिएको छ।