१२ साउन, इनरुवा । देवानगञ्जमा दुई समूहबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार मंगलबार राति ९ बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू रहनेछ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु जारी गरिएको हो।
कर्फ्यु अवधिमा तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
आदेश उल्लंघन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जुका सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ तथा रामधुनी नगरपालिकाको वडा नम्बर १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्रभित्र पनि कर्फ्यु लागू हुनेछ।
झडपपछि विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका थिए।
सुरक्षा अवस्था थप बिग्रिन नदिन प्रशासनले कर्फ्युको दायरा विस्तार गर्दै थप क्षेत्रमा निषेधात्मक आदेश लागू गरेको जनाएको छ। प्रशासनले नागरिकलाई शान्ति कायम राख्न, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ।



