पु.समाचार

संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने : मन्त्री कार्की

जाजरकोट । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा आज संबोधन गर्दै उनले संविधान संशोधन र देश निर्माणको भूमिकामा पत्रकारको दायित्व कहिल्यै पनि नसकिने चर्चा गरे।
सञ्चारमन्त्री कार्कीले संविधान संशोधनको पाटोमा सबैले सघाउनु पर्ने आवश्यकता औँल्याए।
उनले एउटा पार्टीले गरेका क्रियाकलापको अर्को पार्टीले आलोचना र खण्डन गरेर उपलब्धि नहुने भन्दै संविधान संशोधनका लागि प्रतिपक्षसँग सरकारलाई सघाउन आग्रह गरे। उनले पत्रकारले आफ्नो पार्टी निकट रहेर नभई सत्यतथ्य कुरालाई लेख्नुपर्ने भन्दै कुनै पनि सङ्गठनमा गैरपत्रकारलाई सदस्यता दिनु नहुने धारणा राखे। उनले श्रमजीवि ऐन सरकारी मिडियामा लागू भइसकेको र अब अन्य मिडियामा तत्काल लागू हुने बताए।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कँडेलले शुभकामाना मन्तव्य राखेका थिए। प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेशको अधिवेशनले २७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ।
अधिवेशनका लागि प्रदेश नं ६ का १० जिल्लाका जिल्ला प्रतिनिधि, केन्द्रीय सदस्य सुर्खेतमा भेला भएका छन्। अधिवेशनले केन्द्रीय अधिवेशनमा जाने प्रतिनिधिको समेत टुङ्गो लगाउने भएको छ।