पु.समाचार

सर्वसाधारण असुरक्षित यात्रा गर्न बाध्य

पर्सा । पर्साको ग्रामीण भेगबाट सदरमुकाम वीरगन्ज आउन सर्वसाधारणले ज्यान नै जोखिममा राखी यात्रा गर्न बाध्य भएका छन्।

ग्रामीण भेगको सदरमुकाम वीरगन्जसँग जोडिने महत्वपूर्ण बाटोको रुपमा रहेको वीरगन्ज–जानकीटोला नहर सडकखण्डमा रहेका ठूला–ठूला खाल्डा सम्बन्धित निकायले मर्मतसम्भार नगर्दा सर्वसाधारण असुरक्षित यात्रा गर्न बाध्य भएका हुन्।

वीरगन्ज–जानकीटोला सडकखण्डको बलिरामपुर, बहुवरिपिडरी, पटनी, महुवन, डोकैला बहुवरी, जगरनाथपुर, खलनपुर, लमरिया, झाखरामसिहानीदेखि जानकीटोला गाविससम्मको बाटोमा चार फिटसम्म गहिरा खाल्डो परेकाले चारपाङ्ग्रे वाहनबाट यात्रा गर्न असुरक्षित भए पनि सम्बन्धित निकायले कुनै चासो नलिएको सर्वसाधारणले गुनासो गरेका छन्।

ग्रामीण भेगबाट कृषिजन्य वस्तु बिक्रीका लागि सदरमुकाम वीरगन्ज ल्याउने क्रममा सडकको खाल्डोमै ट्याक्टर फसी पल्टिँदा खाद्यान्न नोक्सान हुनुका साथै व्यक्तिसमेत घाइते हुँदै आएकोे पर्साको पटनी गाविस निवासी शिवशङ्कर यादवले बताए।

उनले ग्रामीण भेगबाट वाहनमा बिरामी बोकी उपचारका लागि सदरमुकाम वीरगन्ज आउने अवस्था पनि नभएको सम्बन्धित निकालयलाई जानकारी गराउँदै बाटोको मर्मत गर्न हारगुहार गर्दा कुनै सुनुवाइ नभएको गुनासो गरे।

सडकमा रहेको खाल्डोका कारण दैनिक दुर्घटना भएको जानकारी जिल्ला विकास कार्यालयलाई गराउँदासमेत कुनै सुनुवाइ नभएको पर्साको बलिरामपुर निवासी अजय यादवले बताए। उनले सडक मर्मतका लागि पर्साका स्थानीय विकास अधिकारीलाई भेट गरी ग्रामीण भेगका सर्वसाधारणले सडक मर्मत गर्न अनुरोध गर्दा कुनै सुनुवाइ नभएको गुनासो गरे।
यसै विषयमा पर्साका स्थानीय विकास अधिकारी विश्वराज अर्यालसँग बुझ्दा उनले नहर सडकखण्डको मर्मतसम्भारको सम्पूर्ण जिम्मा सडक डिभिजन कार्यालयको रहेकाले आफूले केही गर्न नसक्ने बताए। नहर सडकखण्डको जीर्ण अवस्था र सर्वसाधारणले भोग्नु परेको पीडाबारे सडक डिभिजन कार्यालयका इन्जिनियर कमलेश कर्णसँग बुझ्दा उनले वर्षाको कारण नहर सडकखण्डमा भएका खाल्डोलाई चाँडै पुरी आवतजावतलाई सहज बनाउने जानकारी दिए।

एक महिनाअगाडि मात्र जिविस पर्साको सहयोगमा सडकखण्डको मर्मत गरिएको बताउँदै इन्जिनियर कर्णले सडकखण्डमा अत्यधिक सवारी चाप रहेको र एक महिनायता भएको वर्षाका कारण पुनः खाल्डो परेको बताए। सर्वसाधारणको समस्याबारे कार्यालय सचेत रहेको बताउँदै इन्जियनर कर्णले तीन–चार दिनभित्र सडक मर्मत कार्य सुरु गरिने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, नहर सडकखण्डमा सवारीसाधन सञ्चालन गर्ने अवस्था नभएको भन्दै यातायात व्यवसायीले वीरगन्ज–ठोरी बससेवालाई बन्द गरेका छन्। सडकमा रहेको चार फिटसम्मको खाल्डोमा बस फस्ने र ठूलो दुर्घटना हुन सक्ने भएकाले सडक मर्मत नभएसम्म यातायात बन्द राखिने यातायात व्यवसायी मुन्न ओझाले जानकारी दिए। वीरगन्जबाट ठोरीका लागि दैनिक चार वटा यात्रुवाहक बस सञ्चालन हुँदै आएका छन्।

यातायात व्यवसायीले सेवा बन्द गरेपछि सदरमुकाम वीरगन्ज र ठोरीको सम्पर्क विच्छेद भएको छ। काम विशेषले वीरगन्ज आउने ठोरीवासीले हाल भारतको रेलकै भर पर्नु परेको छ। भारतको भिखनाठोरी रेलवे स्टेसनबाट रक्सौल हुँदै सदरमुकाम वीरगन्ज आउनु परेको ठोरीवासीले बताएका छन्। रासस