पु.समाचार

बिस्कुटको लेदो बनाई सर्टमा छर्केर लुटपाट गर्ने एक भारतीय पक्राउ

लहान । रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक भारतीय नागरिकलाई लहानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका १८ वर्षीय धर्मवीर ग्वाला रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

इप्रका लहानका अनुसार लहानस्थित एक बैंकबाट दुई लाख झिकेर मोटरसाइकल चढी घरतर्फ जाँदै गरेका एक व्यक्तिलाई ग्वालाले बिस्कुटको लेदो बनाई सर्टमा छर्केर लुटपाट गरेका थिए।
पक्राउ गरिएका युवकमाथि कानुनी कारबाही अघि बढाइने इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।
यस्तै लहान नगरपालिका–६ राधाकृष्ण चोकस्थित गङ्गाप्रसाद चौधरीको घरमा डेरा गरी बस्ने दुईजनाको घरबाट चोरी भएको ल्यापटप र मोबाइल फोनसहित चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–९ का मोहमद सलमान रहेको प्रहरीले जनाएको छ । गत असोज २० गते राति चौधरीको घरमा डेरा गरी बस्ने सप्तरी कुशाहाका सुशीला चौधरी र पुष्पाञ्जलि चौधरीको कोठाबाट चोरी भएको आइसर कम्पनीको ल्यापटप एक थान, विभिन्न ब्रान्डका मोबाइल चार थान, सुनको जस्तो देखिने मङ्गलसुत्र एक थान, मेमोरी कार्ड चार थान र सिमकार्ड एक थानसहित सलमानलाई प्रहरीले पक्राउ गरेको हो ।
कोठाबाट ल्यापटपलगायतका सामान चोरी भएको भन्ने सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलाशका क्रममा चोरीको सामानसहित उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।