ब्रेकिङ न्युज

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य पदको मतदान सकियो, कति भोट खस्यो ?

११ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ।

पार्टीका सभापति रवि लामिछानेले आफ्नो मताधिकार प्रयोग गरेसँगै यस निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान प्रक्रिया सकिएको हो।

महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक सहभागिताका बीच गएराति १२ बजेदेखि नै मतदानको विशेष प्रक्रिया शुरू गरिएको थियो।

नयाँ नेतृत्व र केन्द्रीय टोली चयनका लागि भएको याे निर्वाचनमा देशभरका प्रतिनिधिहरूबाट कुल ३७९ जना उम्मेदवारहरूले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

केन्द्रीय सदस्य पदको यो महत्त्वपूर्ण मतदान कार्य सकिएसँगै अब महाधिवेशनको अर्को मुख्य आकर्षण मानिएको पार्टीको शीर्ष पदाधिकारीहरूको निर्वाचन प्रक्रिया शुरू हुने निर्वाचन समितिले जनाएको छ।

रास्वपाले डिजिटल र प्रविधिको प्रयोगमार्फत निर्वाचन गराइरहेकाले मतपरिणाम पनि छिटो आउने र त्यस लगत्तै पदाधिकारी चयनको आन्तरिक चुनावी प्रतिस्पर्धा अघि बढ्ने बताइएको छ।

रास्वपा प्रवक्ता मनिष झाले ३ हजार एक सयको मत खसेको प्रारम्भिक विवरण रहेको बताए। रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए। नवनिर्वाचित केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ। केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएपछि पदाधिकारी निर्वाचन प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।