२८ असार, काठमाडौं । देशभर मनसुन सक्रिय बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्को जोखिम घटाउन तयारीलाई तीव्र बनाएको छ। विशेषगरी आइतबार रातिदेखि सोमबारसम्म पूर्वी नेपाल र मधेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै एड्भाइजरी जारी गरिएको छ।
प्राधिकरणका अनुसार मनसुनजन्य विपद्को असर कम गर्न सडक, सिँचाइ, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग समन्वय बढाइएको छ। मनसुन तयारीको प्रगति समीक्षा गर्न आयोजित बैठकमा विभिन्न निकायले गरेका कामको विवरण संकलन गरी सरकारसमक्ष प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्यून गर्न सरकार आवश्यक तयारीका साथ सक्रिय रहेको बताए। जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष मौसम बुलेटिनका आधारमा जोखिमयुक्त क्षेत्रका लागि निरन्तर एड्भाइजरी जारी गरिने र आवश्यक परे थप सतर्कता सूचना पनि सार्वजनिक गरिने उनले जानकारी दिए।
प्राधिकरणले नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न, नदी तथा पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित विपद्बाट सुरक्षित रहन समयमै सावधानी अपनाउन आग्रह गरेको छ। समयमै सूचना पालना गरेमा सम्भावित मानवीय तथा भौतिक क्षति उल्लेखनीय रूपमा घटाउन सकिने विश्वास प्राधिकरणको छ।





