२७ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइतेको उद्धारमा खराब मौसम बाधक बनेको छ। घाइतेलाई उद्धार गर्न गएको हेलिकप्टर दुईपटकसम्म अवतरण गर्न नसकेपछि सदरमुकाम फर्किएको छ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार पहिलोपटक घटनास्थल पत्ता लगाउन समस्या भएपछि हेलिकप्टर फर्किएको थियो भने दोस्रोपटक खराब मौसमका कारण अवतरण गर्न नसकेको हो।
दुर्घटनास्थलमा अहिले स्थलमार्गबाट एम्बुलेन्स पुगिसकेको छ भने घाइतेको उपचारका लागि चिकित्सकसहितको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। ज्यान गुमाउनेमा केदारस्यूँ–७ की बिमला धामी, दुर्गाथली–६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन्।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र अन्य ६ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उद्धार र उपचारका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रयास जारी राखेका छन्।





