ब्रेकिङ न्युज

कान्तिपुर गेटमा छाडिएको गाडी रास्वपा नेताले प्रयोग गर्ने खुलेपछि…

२९ असार, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सको गेट अगाडि सोमबार बिहान शंकास्पद रूपमा छाडिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेपछि घटनाले नयाँ मोड लिएको छ।

प्रहरीका अनुसार बा ०१–०३४ च ८४८० नम्बरको उक्त गाडी हाल सानिमा बैंककै नाममा दर्ता रहे पनि करिब एक महिनाअघि खरिद गरिएको थियो। रविका पिता तथा रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवारले गाडी आफ्ना छोराले प्रयोग गर्दै आएको पुष्टि गरेका छन्। उनका अनुसार नामसारी प्रक्रिया पूरा नभएकाले गाडी अझै बैंककै नाममा रहेको हो।

रवि जयसवाल केही समयअघि मात्रै रास्वपामा आबद्ध भएका थिए। पार्टीले उनलाई गत जेठ ८ गते केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनीत गरेको थियो। त्यतिबेला तत्कालीन महामन्त्री भूपदेव शाहले उनलाई मनोनयन पत्र प्रदान गरेका थिए।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्ससँगै अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालय अगाडि पनि यस्तै ढंगले गाडी पार्किङ गरिएको भेटिएको थियो। प्रहरीले सबै गाडी क्रेनमार्फत नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको जनाएको छ।