ब्रेकिङ न्युज

मन्त्रिपरिषद्ले गर्‍यो यस्ता ५ निर्णय, कसलाई दिइयो नयाँ जिम्मेवारी ?

३० असार, काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्णयहरूको जानकारी दिएका हुन्।

बैठकले बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बलका खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

नेपाल वायुसेवा निगमको नेतृत्वमा परिवर्तन गर्दै महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।