ब्रेकिङ न्युज

‘मेरिटोक्रेसी’ कि स्वार्थको द्वन्द्व ? वाग्लेको बैंक नियुक्तिले जन्मायो बहस

३० असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा आफू आबद्ध रहेको संस्थाकी कर्मचारीलाई नियुक्त गरेपछि स्वार्थको द्वन्द्वको विषय उठेको छ।

मन्त्री वाग्लेले दुई महिनादेखि रिक्त रहेको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा ६ जना सदस्य नियुक्त गरेका छन्। नियुक्त हुनेमध्ये डा. आस्था भट्ट पनि रहेकी छन्, जो सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) मा अर्थशास्त्र कार्यक्रम विशेषज्ञका रूपमा कार्यरत छिन्।

वाग्ले मन्त्री बन्नुअघि आईआईडीएसको अध्यक्ष थिए। मन्त्री बनेपछि उनले अध्यक्ष पद छाडे पनि संस्थाले उनलाई मानार्थ अध्यक्ष (चेयरम्यान एमिरिट्स) को जिम्मेवारी दिएको थियो।

अर्थमन्त्री वाग्लेले आफूले गर्ने नियुक्ति योग्यता र क्षमताका आधारमा हुने बताउँदै आएका छन्। तर, आफ्नै नेतृत्वसँग जोडिएको संस्थाकी कर्मचारीलाई सरकारको पूर्ण स्वामित्व रहेको बैंकको सञ्चालक बनाउँदा स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै प्रश्न उठाइएको छ।

उच्च सरकारी अधिकारीहरूले समेत मन्त्रालय मातहतको संस्थामा मन्त्रीसँग सम्बन्धित व्यक्तिलाई नियुक्त गर्दा निर्णय प्रक्रियामा निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त अन्य सञ्चालकहरूमा अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहाल, हुमबहादुर आले, घुरन ठाकुर, गंगाप्रसाद ज्ञवाली र लक्ष्मण ज्ञवाली रहेका छन्।

ज्ञवाली यसअघि नेपाल बैंकको अध्यक्ष भइसकेका व्यक्ति हुन् भने ठाकुर कृषि विकास बैंकमा लामो समय काम गरेका अनुभव भएका व्यक्ति हुन्।