ब्रेकिङ न्युज

संविधानसभाका तीन सदस्यलाई झट्का, रातो पासपोर्ट प्रकरणमा दोषी ठहर

३० असार, काठमाडौं । रातो पासपोर्ट दुरुपयोग गरी सरकारी कागजात किर्ते गरेको मुद्दामा उच्च अदालत पाटनले तीन पूर्वसभासद्लाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको छ।

न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले २०६४ सालको संविधानसभाका सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव र नारदमुनी रानालाई दोषी ठहर गरेको हो।

अदालतले उनीहरूलाई पाँच महिना कैद र जनही ५ सय रुपैयाँ जरिवाना हुने यसअघिको फैसला कायम राखेको छ। साह नेपाली जनता दल, यादव तत्कालीन मधेशी जनाधिकार फोरम र राना नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका थिए।

यस्तै, रातो पासपोर्ट दुरुपयोगमा बिचौलियाको भूमिका खेलेको आरोप लागेका पाँच जनामाथिको जिल्ला अदालतको फैसला पनि उच्च अदालतले सदर गरेको छ। उनीहरूलाई सरकारी कागजात किर्ते मुद्दामा एक वर्ष कैद र ५ लाख ५४ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

यस प्रकरणमा यसअघि भ्रष्टाचार मुद्दासमेत चलेको थियो। विशेष अदालतको फैसलाविरुद्ध परेको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।