३२ असार, काठमाडौं । सरकारले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबाट उठाउने ३ प्रतिशत समता शुल्क शुक्रबारदेखि लागू गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याइएको यो व्यवस्था अनुसार निजी विद्यालयले विद्यार्थीबाट लिने विभिन्न शीर्षकका शुल्कमा ३ प्रतिशतका दरले समता शुल्क थप गरिनेछ।
यस निर्णयले देशभरका निजी विद्यालयमा अध्ययनरत २६ लाखभन्दा बढी विद्यार्थीका अभिभावकमा अतिरिक्त आर्थिक भार थपिने भएको छ। सरकारी तथ्यांकअनुसार हाल देशभर ८ हजार ९४१ निजी विद्यालयमा २६ लाख ५७ हजार १७० विद्यार्थी अध्ययनरत छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समता शुल्कबाट उठेको रकम दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा र पोषण सुधारका लागि प्रयोग गरिने बताएका छन्। उनले यसलाई प्रगतिशील करको रूपमा व्याख्या गर्दै सामान्य शुल्क तिर्ने अभिभावकलाई ठूलो असर नपर्ने दाबी गरेका छन्।
तर निजी विद्यालय सञ्चालक र अभिभावकहरूले भने शिक्षाको अधिकार र थप आर्थिक भारको विषय उठाउँदै सरकारको निर्णयको विरोध गर्दै आएका छन्। संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि सरकारले शिक्षामै अतिरिक्त शुल्क लगाएको भन्दै संसद्मा समेत आलोचना भएको छ।





