पु.समाचार

काँग्रेस सभापती देउवाद्वारा बिजयादशमीको शुभकामना ब्यक्त

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले बिजया दशमीको पावन अवसरमा देश तथा बिदेसमा बस्ने सम्पूर्ण नेपालीहरुलाई बिजयादशमीको अवसरमा शुभकामना दिएका छन् । उनले एक बिज्ञप्ती जारी गर्दै भनेका छन्,
“आज विजया दशमीको पावन दिनमा म सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।  विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ ।
मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलव्धीलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं । मुलुकका सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरुले आ–आफ्ना दलगत स्वार्थलाई त्यागेर मुलुकको समुन्नती र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सक्छौँ भन्ने मैले ठानेको छु । संविधान समय, काल, परिस्थिति, आवश्यकता र जनचाहना अनुसार परिवर्तनीय हुन्छ । मुलुकका सामु विद्यमान समस्याहरुको शान्तिपूर्ण ढंगबाट आपसी सद्भाव र एकताका आधारमा हामी सबै एकजुट भई समाधान गर्न आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अग्रसर हुन सबैलाई आग्रह गर्दछु ।
संसारभरि शान्तिको सन्देश फैलाउने देशको रुपमा नेपाललाई चिनिन्छ । एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई विर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्ता अझ बढ्नेछ ।
आजको यो पुनीत अवसरमा म आफु र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट स्वदेश तथा विदेश जहाँ रहेका भए पनि सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु । “बिज्ञप्तीमा देउवाले  भनेका छन् ।