राजनीति

सभामुख घर्ती र चीनका राजदुत बीच भेटवार्ता

सुर्यखबर
काठमाण्डौ । व्यवस्थापिका संसदका सम्माननीय सभामुख ओनसरी घर्ती र नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदुत H.E. YU Hong बीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

भेटमा दुई देश बिचको सम्वन्ध, सहकार्य र सहयोग आदान प्रदानवारे छलफल भएको सभामुखको कार्यालयले जनाएको छ ।

सभामुखले नेपाल र चीनका बीचमा १९५५ देखी कुटनीतिक सम्वन्ध कायम भएको प्रसंग उल्लेख गर्दै नेपाल जहिलेपनि एक चीन नीतिमा अडिग रहेको बताउनु भयो । चीनले नेपाललाई गत बर्षको भुकम्पका बेला र अन्य समयमा पनि भौतिक तथा आर्थिक लगायत विकासका हरेक क्षेत्रमा उलेख्य सहयोग गरेकोप्रति धन्यवाद दिदै सभामुखज्यूले भोलीका दिनमा चीनको सहयोग अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सभामुखज्यूले नेपाल र चीनको संसद (नेसनल्स पिपुल्स कंग्रेस) का बिचमा रहेको सम्वन्ध आगामी दिनमा आपसी भ्रमण र सहयोगका माध्यमवाट अझ बढाउन चाहेको बताउनु भयो ।
राजदुत H.E. YU Hong ले चीन सधै नेपालको हितको पक्षमा रहेको बताउदै प्रधानमन्त्रीज्यूले अघि सार्नुभएको त्रिदेशीय साझेदारीका लागि तयार रहेको बताउनु भयो ।

दुई देशका सांसद र संसदका बीचको सम्बन्ध अझ गाढा बनाउन आफुहरुपनि प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । नेपालको विकासका लागि आवश्यक सहयोग गर्दै आएको चीनले भोलीका दिनमा पनि यो प्रकृया जारी राख्ने बताउनु भयो ।

संविधान निमार्ण र संशोधनको प्रसंग उल्लेख गर्दै उहाँले चीन सरकारले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप नगर्ने प्रष्ट पार्नुभयो । राजदुत H.E. YU Hong ले सम्माननीय सभामुखज्यूलाई चीन भ्रमणको निम्तो समेत दिनुभएको छ ।