पु.समाचार

निर्वाचन टार्न संशोधन प्रस्ताव ल्याएको पूर्बमन्त्री आचार्यको दाबी

पाँचथर । नेकपा एमालेका सचिव भीम आचार्यले निर्वाचनलाई टार्ने उद्देश्यका साथ सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन्।

सदरमुकाम फिदिममा आज बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले जनताको चाहान र इच्छा विपरीत ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित हुन नदिने बताए।
संविधान कार्यान्वयन गराउनुभन्दा पनि सरकार प्रदेश नं ५ टुक्र्याउन लागिपरेको बताउँदै उनले भाषा र नागरिकताको विषयमा समेत अहिलेको सरकारले गलत निर्णय गरेको टिप्पणी गरे। उनले सरकारले एमालेसँग छलफल नगरी संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजेको उल्लेख गरे।
पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सचिव आचार्यसहित शेरधन राई, जगनाथ खतिवडालगायतका नेताहरु पाँचथर आएका छन्।