अन्तर्राष्ट्रिय

यो हो संसारकै सबैभन्दा अग्लो स्थानमा निर्माण भएको पुल, जसको निर्माण यसरी गरियो !

एजेन्सी– चीनले संसारकै सबैभन्दा उच्च स्थानमा पूल निर्माण गरेर नयाँ रेकर्ड राखेको छ । केही दिनअघि चीनले सो पुलको उद्घाटन समेत गरेको छ । चीनको दक्षिण पश्चिमस्थित पहाडी इलाकामा निर्माण भएको सो पुल नदीबाट १ हजार ८ सय ५४ फुटको उचाइमा निमार्ण भएको हो ।

यस पुलले चीनको युनान र गुइझोउ प्रान्तलाई जाडेको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्हवाका अनुसार अब यो पुल निर्माण भएपछि सवारी साधनलाई चारघण्टा लाग्ने बाटो एकै घण्टामा तय हुनसक्छ, जो चीनको विकासमा एउटा नयाँ फड्को समेत हो ।

सिन्हवा समाचार एजेन्सीलाई अन्तरवार्ता दिँदै एक सवारी चालकले भनेका छन्, ‘यो पुल निर्माणले निकै निकै ठूलो सुविधा दिएको छ, चारघण्टा लाग्ने बाटो अब एक घण्टामा पार गर्न सकिने भएको छ, हामी निकै खुसी छौ ।’

चीनले निर्माण गरेको यो पुलले अहिलेसम्मकै धेरै उचाईमा संसारभर निर्माण भएका पुलहरुको रेकर्ड समेत तोडेको छ । १३ सय ४१ मिटर लामो यो पुल निर्माण गर्न चीन सरकारले १४.४ करोड अमेरिकी डलर अर्थात १ अर्ब युआन खर्च गरेको जनाएको छ ।