३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार सञ्चालन, पार्टीको आन्तरिक व्यवस्थापन र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर मतभिन्नता बढ्दै गएको संकेत देखिएको छ। यही क्रममा पार्टी सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच धुलिखेलस्थित दुसित थानी हिमालय रिसोर्टमा भएको एकान्त छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
दुवै नेताले करिब २४ घण्टा सँगै बिताए पनि छलफलका विषय सार्वजनिक गरिएको छैन। तर सरकारको कार्यशैली, पार्टीभित्र बढ्दो असन्तुष्टि र महाधिवेशनपछि देखिएका विवादबीच भएको यो भेटले विभिन्न राजनीतिक चर्चा जन्माएको छ।
पार्टी विधानमा सभापतिलाई संसदीय दलको नेता हटाउन सक्ने अधिकार थपिएको विषयलाई लिएर बालेन शाह पक्ष असन्तुष्ट रहेको बताइएको छ। उक्त विषय निर्वाचन आयोगसम्म लैजाने तयारी भइरहेको चर्चा पनि छ। महाधिवेशनको समीक्षा बैठक अझै नबोलाइएकाले पनि केही नेताहरू असन्तुष्ट छन्।
यस्तै, सुकुमवासी व्यवस्थापन, सरकारका केही निर्णय, विशेष अदालतका पछिल्ला आदेश तथा संघीयतासम्बन्धी बहसले समेत पार्टीभित्र फरक–फरक धारणा देखिएको छ। केही सांसदहरूले संसदमै सरकारको कार्यशैलीप्रति खुलेर प्रश्न उठाउन थालेका छन्।
यही पृष्ठभूमिमा भएको रवि–स्वर्णिम भेटलाई रास्वपाको आगामी रणनीति र आन्तरिक समीकरणसँग जोडेर हेरिएको छ। यद्यपि, बैठकबाट कुनै औपचारिक निर्णय वा निष्कर्ष सार्वजनिक गरिएको छैन।





