३ साउन, काठमाडौं । काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको छ। घटनामा एक भारतीय नागरिक घाइते भएका छन् भने एक नेपालीसहित दुई जनालाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार कुलेश्वर पुल नजिक विशेष सूचनाका आधारमा अपरेसन चलाएको थियो। पक्राउ गर्ने क्रममा उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
ब्यूरोका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकाको परिचय तथा बरामद लागुऔषधको विवरण पछि सार्वजनिक गरिने लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।





