समाचार

पहिरो जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडक राति १० बजेपछि बन्द

३ साउन, चितवन । पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्गमा राति १० बजेपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

चितवनसहित धादिङलगायतका क्षेत्रमा वर्षाका कारण पहिरोको सम्भावना बढेपछि यात्रुको सुरक्षा ध्यानमा राख्दै रातिको समयमा सडक सञ्चालन रोकिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा रातको समयमा सवारीसाधन सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भएकाले आवागमन बन्द गरिएको उल्लेख छ।

प्रशासनले अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरेमा सम्बन्धित सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

यसअघि पनि निरन्तर वर्षाका कारण शनिबार राति नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको थियो। वर्षा जारी रहेकाले सडकको अवस्था हेरेर थप निर्णय गरिने प्रशासनले जनाएको छ।