समाचार

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई ३ करोड घाटा

४ साउन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द हुँदा तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

बर्डफ्लु संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो । संक्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमण देखिएपछि नियमित सरसफाइ, संक्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो ।

त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उनका अनुसार सामान्य दिनमा दैनिक एक हजार ७०० देखि एक हजार ८०० आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए । शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनासम्मले चिडियाखानामा समय बिताउने गरेका थिए ।

पुनः सञ्चालन भएको पहिलो दिन, साउन १ गते ८०० जनाले मात्र चिडियाखाना भ्रमण गरेका थिए ।

चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि रु १००, विद्यार्थीका लागि रु १५० र अन्य आगन्तुकका लागि रु २५० प्रवेश शुल्क लिँदै आएको छ ।

गत आर्थिक वर्षमा चिडियाखानाले करिब रु १८ करोड आम्दानी गरेको थियो ।