समाचार

बाजुरामा जिप दुर्घटना : २ जनाको मृत्यु, ७ घाइते

४ साउन, काठमाडौं । बाजुराको हिमाली गाउँपालिका-५ क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।

धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प्र.प्र.०१-००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुई यात्रुको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा बाजुराको हिमाली गाउँपालिका-२ बस्ने ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका-५ का अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढा रहेका छन्।

दुर्घटनामा घाइते भएका सातै जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा जिप चालक २५ वर्षीय जनवीर बुढा र ३१ वर्षीया मिजरा बुढा ९बाजुरा० रहेका छन्।

उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम छ। यस्तै, हुम्ला ताजाकोटका २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा सामान्य घाइते भएका छन्।

दुर्घटनाग्रस्त जिप हिमाली गाउँपालिका-२ नातीखोला बस्ने जनवीर बुढाले चलाएका थिए। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।