३२ असार, काठमाडौं । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्ष पदका लागि उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई सरकारसमक्ष सिफारिस गरेको छ।
बिहीबार बसेको परिषद्को बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवासँगै विशेष अदालत, राजस्व न्यायाधीकरण र श्रम अदालतका नेतृत्वमा समेत परिवर्तन गर्न सिफारिस गरेको हो। हाल विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट कार्यरत छन्।
त्यस्तै, राजस्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य तथा अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्द, पोखरामा उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाल र विराटनगरमा उच्च अदालत विराटनगरका न्यायाधीश दीपेन्द्रबहादुर बमलाई नियुक्त गर्न परिषद्ले सरकारलाई परामर्श दिएको छ।
परिषद्ले श्रम अदालतको अध्यक्ष पदका लागि उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई पनि सिफारिस गरेको छ। न्यायपालिकाको नेतृत्व तहमा गरिएको यो फेरबदललाई प्रशासनिक पुनर्संरचनाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।





