ब्रेकिङ न्युज

बागमतीको सत्ता कसको पोल्टामा ?

३२ असार, हेटौंडा । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुट्ने संकेतसँगै बागमती प्रदेशको राजनीतिक समीकरण पनि बदलिने सम्भावना बढेको छ। प्रदेश सरकार गठनका लागि कांग्रेस र एमाले दुवैले नेकपासँग अनौपचारिक संवाद थालेका छन्।

नेकपा सांसद तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालका अनुसार सरकार गठनका विषयमा दुवै दलबाट छलफलको प्रस्ताव आएको भए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाबाट फर्किएपछि मात्रै औपचारिक निर्णय हुने सम्भावना छ।

हाल बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ। केन्द्रको समीकरण परिवर्तनसँगै कांग्रेस सरकार जोगाउने प्रयासमा छ भने एमाले नेकपालाई साथमा लिएर नयाँ सरकार गठन गर्ने रणनीतिमा देखिएको छ।

बागमती प्रदेशसभामा सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका ३६ र नेकपाका २६ सांसद मिल्दा ६२ सिटसहित स्पष्ट बहुमत पुग्छ। यता एमालेका २५ र नेकपाका २६ सांसद जोड्दा ५१ सिट मात्रै पुग्ने भएकाले सरकार बनाउन थप दुई सांसदको समर्थन आवश्यक पर्ने अवस्था छ।

यस कारण बागमती प्रदेशको आगामी सत्ता समीकरणमा नेकपाको भूमिका निर्णायक बन्ने देखिएको छ।