मनोरञ्जन

युट्युबमा छाउँदै तीज गीत

४ साउन, गण्डकी । तीज पर्व अझै करिब दुई महिना पर छ । युट्युबमा गुञ्जिन थालेका तीज गीतले भने पर्व नजिकिएको छनक दिएका छन् । साउन नलाग्दैदेखि युट्युबमा तीज गीत छाउन सुरु गरेका हुन् ।

अनेक विषय, भाव र बान्कीका तीज गीत सार्वजनिक भइरहेका छन् । गायिका एलिना चौहानको युट्युब च्यानलबाट गत शनिबार सार्वजनिक तीज गीत ‘नौरती फुली’ले दुई दिनमै झन्डै साढे चार लाख ‘भ्यूज’ बटुलेको छ ।

दीपक शर्माको शब्द र सङ्गीत रहेको उक्त गीतमा गायिका चौहानसँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बूको स्वर छ । गीतको श्रव्यदृश्यमा कलाकार स्मारिका ढकाल, जुना सुन्दासलगायतको नृत्य र अभिनय छ । सार्वजनिक भएको छोटो अवधिमै उक्त गीतलाई दर्शक÷स्रोताले रुचाएका हुन् । चल्तीका गायिकाको मधुर गायकीले गीतलाई श्रुतिमय बनाएको छ ।

तीन दिनअघि युट्यबमा सार्वजनिक भएको गायिका देवी घर्तीमगर र सुनिता बुढामगरको तीज गीत ‘तीज आयो बरिलै’लाई अहिलेसम्म झन्डै ५० हजारपटक हेरिएको÷सुनिएको छ ।

गायिका समीक्षा अधिकारी र प्रकाश पराजुलीको स्वर रहेको तीज गीत ‘लाहूरेनी’ आइतबार युट्युबमा सार्वजनिक भएको छ । बिमल अधिकारीको शब्द र सङ्गीत रहेको उक्त गीतमा कलाकार विमल अधिकारी, सलिना खत्रीलगायत कलाकारको अभिनय देख्न सकिन्छ । यी केही प्रतिनिधि तीज गीत हुन् । जसमा कहीँ प्रेम र सौन्दर्यको चर्चा छ त कतै श्रीमान्–श्रीमतीबीचको मायावी संवाद ।

तीज पर्व नजिकिँदै जाँदा दैनिकजसो युट्युबाट तीज गीत सार्वजनिक हुने गरेका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीतमा भने मायाप्रेमका विषय बढी मुखरित भएको पाइन्छ । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई तीज गीतमा उठान गरिएको पाइन्छ । कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् ।