अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानले गरे आणविक हतियार सूचीको आदानप्रदान

एजेन्सी । नयाँ दिल्ली र इस्लामावादबीच आइतबार दुई देशमा भएका आणविक हतियार सूचीको आदानप्रदान भएको भारतीय अधिकारीले जनाएका छन् ।

दुई देशबीच भएको द्विपक्षीय सम्झौता, जसले एक अर्कालाई आणविक हतियारको गलत प्रयोग गर्न निषेध गरेको छ, सोही अनुसार सूचीको आदानप्रदान भएको हो ।

दुवै देशका कूटनीतिज्ञबीच एकै समयमा नयाँ दिल्ली र इस्लामावादमा आणविक सूचीको आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । दुई देशबीच आणविक हतियार सूचीको आदानप्रदान हरेक वर्ष जनवारी १ मा हुने गर्छ ।

सन् १९८८ को डिसेम्बर ३१ मा आणविक हतियारबारे सम्झौता भई यसलाई सन् १९९१ को जनवरीदेखि कार्यान्वयनमा लगिएको हो ।