अन्तर्राष्ट्रिय

भारतीय निर्वाचन आयोगले गर्यो विधानसभा निर्वाचनको घोषणा

एजेन्सी । भारतको निर्वाचन आयोगले आगामी फेबु्रवरी ४ देखि विभिन्न पाँच राज्यमा विधानसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । यस्तै उत्तरप्रदेशमा विधानसभाको निर्वाचनलाई विभिन्न सात चरणमा गरिने र निर्वाचन आगामी फेब्रवरीमा सुरु भई मार्चमा सकिने गरि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त नसीम जाइदीले निर्वाचन मिति घोषणा गर्दै भने, ‘ पाँचै प्रदेशमा निर्वाचनको मिति घोघणा गरिएको छ भने उत्तर प्रदेशमा सात चरणमा निर्वाचन गरिने छ । यहाँ फेब्रवरी, ११, १५, १९, २३, २७ तथा मार्च ४ र ८ तारिखमा निर्वाचन’ हुनेछ ।

निर्वाचन हुन लागेका पाँचै राज्यमा गरी ६९० निर्वाचन क्षेत्रमा १६ करोड भारतीय जनताले मतदानमा सहभागिता जनाउनेछन् । निर्वाचन आयोगले सन् २०१२ मा तोकेको भन्दा करिव १५ प्रतिशत बढी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गर्दै जम्मा एक लाख ८५ हजार मतदान केन्द्रबाट मतदान हुने जनाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त सहित अन्य दुई निर्वाचन आयुक्त एके ज्योती र आपि रावत उपस्थित पत्रकार सम्मेलन मार्फत निर्वाचन कार्यक्रम घोषणा गर्दै यही जनवरी ११ पञ्जाव र गोवा राज्यको मतदानका लागि जनवरीपछि प्रतिस्पर्धा गर्न चाहने सदस्यले आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्य सुरु हुनेछ ।

उक्त अवसरमा प्रमुख आयुक्तले निर्वाचन आचार संहिता तत्कालै लागु हुने र यो राजनैतिक दल र सम्बद्ध राज्य सरकारका लागि लक्षित रहनेछ ।

निर्वाचनमा गरिने खर्चलाई पारदर्शी बनाउन उम्मेदवारले नयाँ बैङ्क खाता खोली २० हजार रुपैयाँभन्दा माथिको कारोबार चेक मार्फत गर्नुपर्ने व्यवस्था गरिएको जाइदीले सञ्चारकर्मीमाझ बताए ।

उम्मेदवार वा पार्टीलाई गरिने सहयोग पनि बैङ्कमार्फत गर्नुपर्ने गरी व्यवस्था गरिएको उनको भनाइ थियो ।

उत्तरप्रदेश, पञ्जाव, उत्तराखण्ड राज्यमा एक उम्मेदवारले अधिकतम २८ लाख र गोवा र मणिपुरमा २० लाख मात्र निर्वाचन खर्च गर्नसक्ने अन्तिम सीमा कायम गरेको छ ।