अन्तर्राष्ट्रिय

नवनिवार्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिइरहँदा देखियो यस्तो दृष्य

एजेन्सी । अमेरिकाका अतिशय धनाढ्य र टेलिभिजन कार्यक्रमका एक कुशल प्रस्तोता र कलाकार भनी परिचित डोनाल्ड ट्रम्पले गतः शुक्रबार स्थानीय समयअनुसार मध्यान्हमा एक भव्य समारोहकाबीच ४५ औँ अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरे ।

विगत आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी प्रशासन गतः शुक्रबार अपरान्हदेखि पहिलो पटक, न्यूनतम चार वर्षका लागि रिपब्लिकन पार्टीको नेतृत्वमा गएको छ ।

निर्वाचन अभियानमा “अमेरिकालाई फेरि महान बनाऔँ (मेक अमेरिका ग्रेट अग्येन)” भन्ने लोकप्रिय नारा लिइ विजयी भएका राष्ट्रपति ट्रम्पले शपथ ग्रहणको क्रममा सम्बोधन गर्दै, आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले राज्यद्वारा बेवास्ता गरिएका अमेरिकी नागरिकहरु (फर्गट्टन मेन एण्ड विमन) को उत्थान र सशक्तिकरणका लागि प्रयासरत रहने बताए ।

अमेरिकी राजनीतिक नेतृत्वशक्ति र राज्य सञ्चालनमा गहिरो अनुभव हासील नगर्नुभएका राष्ट्रपति ट्रम्पले विश्वशक्तिको प्रथम स्थानमा रहँदै आएको अमेरिकाले आर्जन गरेको इज्जत र मानलाई अलिकति पनि कम हुन नदिने राष्ट्रप्रेम झल्काउने दुई शव्दहरुः “अमेरिका फस्ट”लाई आत्म–विश्वासका साथ बारम्बार दोहो¥याई उद्घोष गरे ।

भित्र अमेरिकी उच्च अधिकारी तथा सम्मानित व्यक्तित्वहरु र बाहिर प्राङ्गणमा, निवार्चनमा मत दिइ विजयी गराउने बिभिन्न राज्यका हजारौँ जनता तथा अन्य आगन्तुकले खचाखच भरिएको अमेरिकी संसद् भवन “क्यापिटोल हिल”मा आयोजित एक ऐतिहासिक समारोहकाबीच राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेका थिए ।

उक्त समारोहमा राष्ट्रपतीय एकता प्रदर्शन गर्न एक वृद्ध दम्पत्ति बाहेक अमेरिकाका सबै जीवित पूर्व–राष्ट्रपति र सपत्नी उपस्थित थिए । पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशका पिता एवम् पूर्वराष्ट्रपति, ९२ वर्षीय जर्ज एच डब्ल्यु बुशलाई निमोनिया रोगले सताएका कारण अस्पताल भर्ना हुनुभएकाले उपस्थित हुन सक्नु भएन । बुशपत्नी बार्बरालाई पनि एक्कासी जरो आएकोले उनी पनि अस्पताल मै रहेकी छन् ।

यता, डेमोक्र्याटहरुको निन्दा गरेको भन्दै अमेरिकी संसद्को तल्लो सदनका साठ्ठी जनाभन्दा बढी सदस्यहरु उक्त शपथ ग्रहण समारोहमा उपस्थित भएनन् । निवर्तमान राष्ट्रपति बाराक ओबामा बाहेक अमेरिकी उच्च अधिकारी तथा सम्मानित ब्यक्तित्वसँगसँगै एउटै पङ्क्तिमा आसनग्रहण गर्ने वरिष्ठ डेमोक्र्याटहरुमा राष्ट्रपति पदकी पूर्वउम्मेदबार हिलारी रोधाम क्लिन्टन एकजना मात्र थिइन् ।

अमेरिकी परम्परागत धार्मिक चलनअनुसार शपथ ग्रहण समारोहमा आउनुपूर्व उनले शुक्रबार बिहानै सपरिवार स्थानीय एउटा चर्चमा जानु भइ त्यहाँ आयोजित प्रार्थना सभामा सम्मिलित थिए ।

तत्पश्चात् उनी निवर्तमान राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मिसेल ओबामाको निमन्त्रणा मान्न उनी सपरिबार ह्वाइट हाउस जानु भइ चियापान कार्यक्रममा सम्मिलित भएका थिए ।

यता, निवर्तमान राष्ट्रपति ओबामा ह्वाइट हाउसबाट बिदावादी भएपछि केही वर्षसम्म वाशिङ्गटन मै सपरिवार बस्ने बिचारमा रहेका छन् । शपथ ग्रहण समारोह पश्चात्, अमेरिकी राष्ट्रपति मात्र चढ्नका लागि छुट्याइएको सैनिक हेलिकोप्टर– “अमेरिकन एयर फोर्स–वान्”बाट उनले वाशिङ्गटनको एन्ड्र्युज सैनिक आधार शिविर पुगी त्यहाँ भेला भएका ह्वाइट हाउसका सबै कर्मचारी बर्गलाई बिदाइ सम्बोधन गरेका थिए ।

त्यसपछि, उनी सैनिक विमानबाटै क्यालिफोर्नियाको पाम स्प्रिङग्स पुगेका थिए । त्यहाँ उनी सपरिवार छुट्टि मनाई केही समय आराम गर्नेछन् ।