पु.समाचार

कांग्रेस नेता महत सहभागी कार्यक्रममा गोली चल्यो !

नुवाकोट । खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए । झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

झडपमा एक सशस्त्रसहित सातजना घाइते भएका छन् । डा. महत सहभागी जागरणसभा बिथोल्न आएकालाई नियन्त्रणमा लिन ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए । प्रहरीले पहिला लाठीचार्ज गरेको थियो । तर, भीड नियन्त्रण नभएपछि गोली चलाएको उनले बताए ।

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ, तीनजनालाई रबरको गोली लागेको छ । लाठी प्रहारबाट अरू तीनजना घाइते छन् । सशस्त्र प्रहरीका एकजना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

रबरको गोलीबाट सूर्यमति–२ का सुजन न्यौपाने, लक्ष्मण गुणी र सूर्यमति–१ का कान्छा भण्डारी घाइते छन् । यस्तै प्रहरीको लाठीचार्जबाट थानसिंह–७ कानवराज रोका, सूर्यमति–१ का कृष्ण गजुरेल र सूर्यमति–२ का विकास मगर घाइते छन् ।

जिल्ला प्राविधिक समितिले सिफारिस गरेको लिखु गाउँपालिका बदर गरिएपछि २ माघबाटै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । प्रस्तावित सो गाउँपालिकामा पर्ने खानीगाउँ, थानसिंह, सूर्यमति र चौघडा गाविस ११ दिनदेखि बन्द गरी स्थानीय आन्दोलनमा उत्रिएका छन् । बन्द खुलाउन भन्दै डा. महत जागरणसभा गर्न सो स्थान पुगेका थिए । सय जनाभन्दा बढी सुरक्षाकर्मीका साथ पुगेका डा. महतविरुद्ध चर्को नाराबाजी भएको थियो ।

कडा सुरक्षा घेरामा डा. महतले सभालाई सम्बोधन गरेका थिए । उनले बन्द गरेर स्थानीयलाई दुःख दिन नहुने बताए । पुनर्संरचना आयोगले सरकारलाई बुझाएअनुसार नै सीमांकन हुनुपर्ने उनको भनाइ छ ।

चारै गाविसका आन्दोलनकारीले गत ७ माघमा विदुरमा जिविसको कार्यालय तोडफोड गरेका थिए । जिल्लाको पूर्वी भेगलाई जोड्ने सडक यिनै गाविस हुँदै गएकाले ११ दिनदेखि बन्द हुँदा पूर्वी भेगका स्थानीय समस्यामा परेका छन् ।