पु.समाचार

सार्क सम्मेलनका लागि पाकिस्तान तयार !

काठमाण्डौ ।  पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएको छ। सार्कका महासचिव अर्जुनबहादुर थापासँग हालै भएको भेटमा पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार सरताज अजिज र त्यहाँका विदेशसचिव अजिज अहमद चौधरीले त्यस्तो बताएका हुन्।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार अजिजले भारतले सार्कको वडापत्रको उल्लंघन गरेको बताएका थिए। महासचिव थापाको तीन वर्षे कार्यकाल फेब्रुअुरी २८ मा सकिंदैछ। थापा यतिबेला विदाइ भेटका क्रममा सार्क मुलुकको भ्रमणमा छन्।

सोमबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, भारतका कारण सार्क शिखर सम्मेलन स्थगीत हुँदा सार्कका सबै गतिविधिमा अवरोध आएको पाकिस्तानले आरोप लगाएको छ। इस्लामावादमा सार्क शिखर सम्मेलन आयोजना गर्न प्रतिबद्ध रहेको उसले बताएको छ। सार्कको वर्तमान अध्यक्ष मुलुक नेपालले सार्क शिखर सम्मेलन आयोजना गर्न कुनै पहल नगरेको टिप्पणी भइरहेका बेला पाकिस्तानले यस्तो बताएको हो ।