समाचार

विदेशबाट वर्षेनी आउँछन् शवसहित हजार बाकस !

काठमाण्डौ । मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटका लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो।  शव बाहिर निकाल्ने फरक बाटो थिएन। मृतकका आफन्तले यात्रु निस्कने मूल ढोकाबाटै कफिन निकाल्दै थिए। त्यो देखेर विदेशबाट आएका यात्रु र उनीहरुलाई पर्खिबसेका आफन्तको मन चिसो भयो। भन्दै थिए, कफिन त अर्कै बाटो लैजाने व्यवस्था भइदिए पनि हुन्थ्यो नि ।
सोमबारको कान्तिपुरमा लेखिएको छ, एउटै जहाजबाट ल्याइएका ती शव घरसम्म पुर्यारउन ढोका छेउमै तीन वटा एम्बुलेन्स थिए। मेडिकल रिपोर्टअनुसार रानाले आत्महत्या गरेका थिए। पुनको हृदयघातबाट मृत्यु भएको थियो। लालबहादुरको मृत्युको कारण खुलेको थिएन। त्यसअघि मात्रै कतारबाट ४ जनाको शव ल्याइएको थियो।

जसमा थिए, सोनाम तामाङ, शेख इजराइल, मोहम्मद अकुब नदफ्फा र आइडी मोहम्मद। मेडिकल रिपोर्टमा सोनामको श्वासप्रश्वास समस्याबाट मृत्यु भएको उल्लेख छ। शेख र आइडी काम गर्ने स्थानबाट खसेका थिए। वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएका मुलुकहरुबाट यसरी शव आउनु सामान्य भइसकेको छ। हरेक वर्षजसो एक हजारको हाराहारीमा शव आउन थालेका छन्।