समाचार

हेलिकोप्टर पठाउन ढिलाई भएपछि चिनियाँ पर्यटकको मृत्यु

काठमाडौं । सगरमाथा आधारशिविर जाने क्रममा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनीयाँ पर्यटक ५१ बर्षीय जाइन वेनको उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाई गरेका कारण मृत्यु भएको छ ।

सगरमाथा आधारशिविर पदयात्रा मार्गमा पर्ने ५,७०० मिटर उचाइको गोरक्षेप क्षेत्रमा लेक लागेर बिरामी परेपछि नेपाली सहयोगी प्रताप तामाङले मगाएको हेलिकोप्टर पुग्न ढिला भएकाले उनको मृत्यु भएको खुलेको छ ।

मंगलबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, शनिबार दिउँसो एक बजे इजी हेली सर्भिसनामक संस्थालाई वेनको उद्धारको लागि हेलिकोप्टर पठाइदिन लुक्लाका थुक्तेन शेर्पा मार्फत अनुरोध गरेपनि कम्पनीले साढे तीन घण्टा ढिलो गरी काठमाडौंबाट हेलिकोप्टर पठाएको थियो ।

शनिबार ४ ३० बजे मात्र काठमाडौंकाट हेलिकोप्टर सगरमाथा आधारशिविरतर्फ गएको तामाङले बताए । तत्काल पठाइदिन भने पनि हेलिकोप्टर व्यस्त भएको भन्दै कम्पनीले ढिलाइ गरेको जानकारी उनले दिए । हेली एभरेस्टसँग मात्र कारोबार गर्ने भएका कारण उद्धार कम्पनीले अन्य हेलिकोप्टर नपठाएको स्रोतले उल्लेख गरेको छ ।

साढे चार बजेमात्र काठमाडौंबाट उडेको हेलिकोप्टर समय अभावका कारण गोरक्षेपसम्म जान नसक्दा लुक्लामै बास बसेको थियो । भोलिपल्ट बिहान लुक्लाबाट उक्त हेलिकोप्टर गोरक्षेपतर्फ गएको हेली एभरेस्टका पाइलट निश्चल केसीले बताए । उद्धारमा प्रयोग भएको हेली एभरेस्टका पाइलट केसीले अन्नपूर्णसँग भने, ‘मलाई चार बजे खबर आयो । म उद्धारमा गएँ तर समय अभावले गोरक्षेप पुग्न नसकी लुक्ला बसेर बिहानै उद्धार गरेको थिएँ ।’

उद्धारपछि लुक्ला ल्याएर उपचारका लागि पासाङ ल्हामु अस्पतालमा भर्ना गरे पनि आइतबार बिहान ७:३० बजे ती पर्यटकको मृत्यु भएको जानकारी लुक्ला प्रहरीले दिएको छ । आधारशिविरतर्फ हिँडेका चार चिनियाँ टोलीका तीनजना सकुशल फर्केका छन् ।