पु.समाचार

एक्कासि यसकारण देखियो कांग्रेस र माओवादीबीच खट्पट् !

काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन्।

प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको आरोप छ। नेपाली कांग्रेसका नेताहरूले निर्वाचन मिति घोषणा गर्न नसक्ने भए राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रहसमेत गर्न थालेका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत साता कोरिया भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले चुनाव गर्न नै नचाहेको आरोप लगाएका थिए। सरकारले निर्वाचन मिति नतोकेकोप्रति उनको असन्तुष्टि छ। पौडेल पक्षीय नेताले सरकारबाट फिर्ता हुनुपर्ने मागसमेत गर्न थालेका छन्। उनीहरूले सभापति शेरबहादुर देउवालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत दबाब दिएका छन्।

कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सरकारले निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने काम मात्रै भएको बताए। ‘निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने कुरा मात्र हो,’ नेता कोइरालाले भने, ‘आयोग बाह्रै महिना निर्वाचनका लागि तयार छ तर मुख्य कुरा त निकायको गर्ने कि तहको भन्ने तोक्नुपर्ने हो त्यो तोकेको छैन।’ नेता कोइरालाले सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकिने समेत जनाए।

‘सरकारले जे गर्नुपथ्र्यो त्यो गरेन, सरकारको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने। संविधान सम्बोधनमार्फत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग पूरा गर्ने तथा चैतभित्र स्थानीय निर्वाचन गराएर सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने सहमतिका साथ दाहाल नेतृत्वको सरकार १९ साउनमा गठन भएको थियो। सरकारले मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक संसद्मा टेबुल गरे पनि त्यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने मोर्चाको अडान छ। प्रतिपक्षी एमालेसहितका विपक्षी गठबन्धनले संशोधन प्रस्तावलाई अस्वीकार गर्दै पारित हुन नदिने बताइरहेका छन्।

सरकारले संशोधन चैतमा निर्वाचन सम्पन्न गर्नुको सट्टा अहिलेसम्म निर्वाचन मिति नै घोषणा नगरेपछि मुख्य सत्तारूढ घटक कांग्रेस असन्तुष्ट देखिएको हो। कांग्रेसका कतिपय नेताले १ वैशाखसम्म स्थानीय चुनाव गराए पनि नगराए पनि सत्ता हस्तान्तरण गर्नुपर्ने लिखित सम्झौता भएकाले जसरी पनि सत्ता छाड्नुपर्ने समेत बताएका छन्। ‘यो सरकार गठन हुँदा नै सत्ता हस्तान्तरणको लिखित सम्झौता भएको हो,’ नेता कोइराला भन्छन्, ‘१ वैशाखदेखि चुनाव भए पनि नभए पनि माओवादीले सत्ता हस्तान्तरण गर्नुपर्छ।’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० जेठभित्र निर्वाचन गराउने भनेर निर्वाचन गर्न नै नदिने खेल त भइरहेको छैन भनेर आशंका व्यक्त गरे। ‘निर्वाचन मिति तोकिएको छैन, १० जेठभित्र निर्वाचन गर्ने भनेर धकेल्न हुन्न,’ उनले भने। दुई चार दिनभित्रै स्थानीय निकाय कि तहको निर्वाचन भन्ने टुंग्याउन आफूले आग्रह गरेको भन्दै नेता पौडेलले तत्काललाई तहको गर्न नसकिने भए निकायकै भए पनि निर्वाचन गर्नुपर्ने समेत बताए।

आइतबारको राजधानीमा लेखिएको छ, कांग्रेस नेता डा। नारायण खड्काले सरकारले निर्वाचन आयोगलाई तयारी गर्नु भनेर कानुनी र प्राविधिक पाटो अघि बढाउन सन्देश दिए पनि यो पर्याप्त हुन नसक्ने बताए। उनले मोर्चालाई बाहिर राखेर निर्वाचन सम्भव नरहेको भन्दै जसले समस्या समाधान गर्न सक्छ उसैले सरकार चलाउँदा फरक नहुनेसमेत बताए। ‘मोर्चालाई पनि सहमतिमा ल्याउनु पर्छ, कति सकिन्छ उनीहरूका माग सम्बोधन गर्नुपर्छ,’ नेता खड्काले भने, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याउन सक्छ, संविधान संशोधन गर्न सक्छ भने एमालेकै सरकार बन्दा पनि फरक पर्दैन।’