समाचार

काठमाण्डौ उपत्यकामा टेम्पो र माइक्रोबस हटाइँदै

काठमाडौ – राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ । साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ । पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिने भएको छ ।

राजधानीको प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा सार्वजनिक साना सवारीसाधन विस्थापन गरी ठूला सञ्चालन गर्ने योजना बनाएको विभागका सूचना अधिकारी डा। टोकराज पाण्डेले बताए ।

पहिलो चरणमा गोंगबु–सिनामंगल रुटका ३५ टेम्पो र २६ माइक्रोबस हटाइनेछ । ६१ वटा सवारीसाधन हटाई तिनका ठाउँमा १७ वटा ठूला बस सञ्चालन गरिनेछ । यी बस नयाँ बसपार्क, सामाखुसी, जमल, ज्ञानेश्वर, मैतीदेवी, पुरानोबानेश्वर, सिनामंगल हुँदै एयरपोर्टसम्म गुड्नेछन् ।
‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ अन्तर्गत साना सवारी व्यवस्थापन गर्न लागिएको हो । चलिरहेका टेम्पो र माइक्रोबस कम्पनी दर्ता गरेर आए ठूला सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ऋण र १५ प्रतिशत सिड मनी दिने व्यवस्था रहेको जानकारी सूचना अधिकारी पाण्डेले दिए । आयोजनालाई एसियाली विकास बैंक (एडीबी) ले आर्थिक सहयोग गरेको छ ।

विभागका अनुसार गोंगबु-सिनामंगल रुटमा यो कार्यक्रम सफल भएपछि राजधानीका अन्य रुटमा पनि साना सवारीसाधन विस्थापन थालिनेछ ।
टेम्पो व्यवसायी संघ सिनामंगलका कोषाध्यक्ष नरेन्द्र अधिकारीले सरकारी योजनाको सराहना गर्दै माइक्रोबस सञ्चालक संघ, सामाखुसी यातायात र सिनामंगल सफा टेम्पो संघ मिलेर नयाँ ठूला बस खरिद गर्न कम्पनी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, अहिले देशभर दुई हजार दुई सय १६ माइक्रोबस र दुई हजार पाँच सय २८ टेम्पो सञ्चालनमा छन् । तीमध्ये अधिकांश माइक्रोबस र टेम्पो राजधानीमै छन् । यी दुई प्रकारका साना सवारीसाधनलाई व्यवस्थित गर्दा राजधानीको करिब ३० प्रतिशत ट्राफिकभार कम हुने विभागको विश्वास छ ।

सरकारले फागुन १७ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई देशभरबाटै हटाउने भएको छ । २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी सरकारले आउँदो फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको थियो ।