समाचार

मन्त्रिपरिषद बैठकद्धारा जयबहादुर चन्द प्रहरी प्रमुखमा नियुक्त

काठमाण्डौ । मन्त्रिपरिषद बैठकले डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । प्रहरीको तेश्रो बरियताक्रममा रहेका डिआइजी चन्दलाई आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको हो ।  महानिरीक्षक नियुक्तिको विषयमा शीर्ष राजनीतिक तहमा समेत चर्को बहस भएको थियो ।

प्रहरीको आन्तारिक बरियताक्रम अनुसार पहिलो नम्बरमा नवराज सिलवाल र दोश्रो नम्बरमा प्रकाश आर्याल रहेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले डिआइजी जयबहादुर चन्दलाई नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिलाई दबाब दिएका थिए ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले भने प्रक्रिया अनुसार सिलवालनै आइजीपी नियुक्त गर्नुपर्ने अडान राखेपनि पछिल्ला केही दिनअघि गृहमन्त्री निधि देउवाको पक्षमा देखिएका थिए । आइतबार देउवाकै दबाबमा चन्दलाई मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।  बैठकले शसस्त्र प्रहरी प्रमुखमा भने सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको जनाइएको छ ।