समाचार

परराष्ट्र मन्त्री डा. महत बेल्जियम जानुहुदै

प्रकाश शरण महत

काठमाडौँ  । परराष्ट्र मन्त्री डा प्रकाश शरण महत बेल्जियमका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महामहिम डिडिइर रेन्डेर्सको निमन्त्रणामा आईतबार साँझ त्यस तर्फ प्रस्थान गर्ने जनाइएको छ ।

फाल्गुण ३ गते बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘शान्तिको खोजीका लागि वर्तमान अनुभवको सम्भाव्यता र सीमितता’ विषयक अन्तर्राष्ट्रिय तहको मध्यस्तता सम्मेलनमा भाग लिन उहाँ त्यस तर्फ जान लागेको परराष्ट्रमन्त्रालयले बताएको छ ।

नेपालले संयुक्त राष्ट्रसंघको मध्यस्तता समूहमा सक्रिय रहनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा निवारक कूटनीति विषयलाई महत्वका साथ उठाउँदै आएको मन्त्री डा महतले बताए ।

संयुक्त राष्ट्रसंघका नव नियुक्त महासचिवले निवारक कूटनीति एवम् शान्तिको स्थायित्वमा केन्द्रित रही सन् २०१७ लाई शान्तिका निमित्त समर्पित वर्षका रुपमा काम गर्न आव्हान गर्नुभएको सन्दर्भमा द्वन्द्वको रोकथाम, दिगो शान्ति, जस्ता विषयमा केन्द्रित रहने यो सम्मेलनमा परराष्ट्र मन्त्रीस्तरको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा परराष्ट्र मन्त्री डा महतले युरोपियन आयोगका अध्यक्ष महामहिम जिन क्लाउड जंकर तथा आयोगकी परराष्ट्र तथा सुरक्षा नीति सम्बन्धि उच्च प्रतिनिधि फेडरिका मोघरिनसँग भेटघाट गर्ने जानकारी दिए ।

जिन क्लाउड जंकरसँगको भेटघाटका क्रममा नेपालको विकास प्रयास र पुनर्निर्माणमा युरोपियन युनियन र अन्तर्गतका मुलुकहरुको सहयोग तथा नेपालको शान्तिप्रक्रियामा ती मुलुकहरुको सद्भावका सम्बन्धमा छलफल गर्ने डा. महतले जानकारी गराएका छन् ।

परराष्ट्र मन्त्री डा महतले उक्त अवसरमा नेपालले राजनैतिक तथा सामाजिक क्षेत्रमा हासिल गरेको उपलब्धिलाई दीगो तुल्याउन आर्थिक तथा पूर्वाधारको क्षेत्रमा, पुनर्निर्माणका लागि थप सहयोग, युरोपेली आकासमा लगाईएको नेपाली हवाई उडानको प्रतिबन्ध हटाउने, युरोपेली मुलुकमा नेपालको निर्यातलाई प्रोत्साहन गर्न थप सहुलियत, लगानी प्रवर्धन, पर्यटन विकासलगायतका विषयमा छलफल गर्ने बताएका छन् ।

नेपालको एक प्रमुख विकास साझेदार रहेको युरोपियन युनियन तथा अन्तर्गतका मुलुकहरुसंगको परराष्ट्र मन्त्रीस्तरमा हुने भेटघाट तथा द्विपक्षीय वार्ताबाट नेपाल र ती मुलुकहरुबीच सम्बन्ध थप प्रगाढ हुने मन्त्रालयको अपेक्षा छ ।

भमण दलमा बेल्जियमका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालय युरोप अमेरिका महाशाखाका प्रमुख तथा मन्त्रालय र दूतावासका अन्य अधिकृत समेत हुुनुहुन्छ । भ्रमण पुरा गरी मन्त्री डा महत यही फागुन ६ गते स्वदेश फर्कनु हुनेछ ।