राजनीति

कांग्रेस र माओवादीबीच महत्वपूर्ण सहमति

काठमाण्डौ । सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्ने विषयमा सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ती दुई दलको बैठकले उक्त सहमति गरेको हो । सरकार र मधेसी मोर्चाका नेताहरुबीचको बैठकमा शनिबार घम्साघम्सी भएको भोलिपल्टै मुलुकका दुई ठूला दलले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेका हुन् ।

शनिबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताबीचको बैठकमा मोर्चाका नेताहरुले संविधान संशोधनको मुद्धा नटुंग्याई स्थानीय निकायको निर्वाचन घोषणा गरिए कसैले नसोचेको भीषण आन्दोलनको घोषणा गरेर जाने चेतावनी दिएका थिए ।

त्यसको भोलिपल्टै माओवादी र कांग्रेसका शीर्ष नेताबीच जसरी पनि स्थानीय चुनावको मिति तोकेरै जाने विषयमा सहमित भएको छ । यद्यपि, बैठकले निर्वाचन घोषणा गर्नुअघि मोर्चाका नेताहरुसँग समेत छलफल गर्ने निर्णय गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार सोमबारभित्रै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने तयारी भैरहेको बताइएको छ ।

दुई ठूला दलबीच भएको सहमतिलगत्तै प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग परामर्श थाल्ने बताइएको छ । निर्वाचन आयोगले यसअघिनै जेठको पहिलो र तेश्रो साता निर्वाचन गर्न सकिने प्रस्ताव सार्वजनिक गरिसकेको छ तर कांग्रेसले भने वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने बताउँदै आएको छ ।
मोर्चाले संविधान संशोधनको माग नटुग्यांई निर्वाचनको मिति घोषणा नगर्न आग्रह गरिरहेका बेला सत्तारुढ दलहरुबीचको यो निर्णयले कस्तो परिणाम ल्याउने हो, त्यो भने हेर्न बाँकी नै छ ।