पु.समाचार

देउवाले दिए प्रधानमन्त्री दाहाललाई ‘कडा अल्टिमेटम’

काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले बैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘अल्टिमेटम’ दिएका छन् । बैशाख मसान्तभित्र निर्वाचन गर्न नसके पूर्व समझदारी अनुसार नेतृत्व छाड्नुपर्ने भन्दै देउवाले सोमबारकै मन्त्रिपरिषद बैठकबाट निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।

प्रधानमन्त्री दाहाल निर्वाचन मिति घोषणा गर्ने या नगर्ने भन्ने अन्यौलमा रहिरहेका बेला कांग्रेस सभापति देउवाले आईतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई डाकेर निर्वाचनको मिति र सरकारको नेतृत्वका बिषयमा दुई घण्टा छलफल गरेका थिए । देउवाले मन्त्रीहरुलाई बैशाख मसान्तभित्रै निर्वाचन गर्नेगरी मिति घोषणाका लागि सामूहिक दृष्टिकोण सोमबारको मन्त्रिपरिषद् बैठकमा राख्न समेत निर्देशन दिएका छन् ।

त्यसअघि कांग्रेस र माओवादी केन्द्रबीच भएको छलफलमा पनि देउवाले बैशाख मसान्तभित्रै निर्वाचन गर्न दबाब दिएका थिए । प्रधानमन्त्री दाहाल भने बजेटमार्फत आमजनतालाई आकर्षित गर्न सकिने बताउँदै जेठ १५ पछि निर्वाचन धकेल्न चाहन्छन् । नयाँ संविधान अनुसार जेठ १५ मा बजेट ल्याउनैपर्ने बाध्यता छ ।
एमाले नेतृत्वको सरकारले ल्याएको बजेटलाई निस्प्रभावि पार्न नयाँ बजेट ल्याउनु पर्ने तर्क राख्दै दाहालले जेठ १५ पछि निर्वाचन मिति घोषणा गर्न चाहेका हुन् । तर, प्रमुख सत्ता साझेदार कांग्रेस सभापति देउवा त्यसमा तयार छैनन् । सोमबारको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरि मिति घोषणाको तयारी गरेको कांग्रेसका एक मन्त्रीले बताए ।

उनका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकमा स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन बुझ्ने र लगतै अर्को मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदनको असन्तुष्टीलाई सम्वोधन गर्न विज्ञ सम्मिलित समिति बनाउने तयारी सरकारको छ । तराई–मधेसमा उठेको असन्तुष्टीलाई सम्वोधन गर्न विज्ञ सम्मिलित समितिलाई स्थानीय तहको संख्या केही बढाउन पाउनेगरी कार्यदेश दिनेबारे पनि छलफल भएको छ ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, मन्त्रीहरुको छलफललगतै देउवा कांग्रेस, माओवादी केन्द्र र मोर्चाबीचको छलफलमा भाग लिन बालुवाटार पुगेका थिए । बैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न नसके दाहालले पूर्व समझदारी अनुसार सरकारको नेतृत्व छाड्नुपर्ने धारणा समेत देउवाले मन्त्रीहरुसँगको बैठकमा राखेका थिए ।

निर्वाचन हुन नसकेमा बजेट ल्याएर सरकार छाड्ने संकेत दाहालले कांग्रेस नेताहरुलाई दिँदै आएका छन् । तर, देउवाले भने निर्वाचन गर्न नसके बैशाखमा नयाँ सरकार बन्ने र त्यसैले बजेट ल्याउने बताएका थिए । वाणिज्य मन्त्री रोमी गौचनले यस्तो ढंगबाट अघि बढा एमाले, माओवादी केन्द्र र राप्रपाबीचको गठबन्धन त बन्दैन ? भन्ने प्रश्न देउवालाई राखेका थिए । ‘माओवादी र एमाले नेताहरुबीच धेरैपटक छलफल भएको मैले पनि सुनेको छु,’ गौचनको भनाई उत्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘कतै एमाले र माओवादीबीचको नयाँ समीकरण बन्न लागेको त छैन, सभापतिजीले विचार पुर्याउउनु होला ।’ गौचनको यस्तो प्रश्नमा देउवाले सिधा जबाफ नदिए पनि प्रधानमन्त्री दाहाल समझदारी अनुसार अघि बढ्न तयार भएको संकेत आफूले पाएको जानकारी गराएका थिए ।

कांग्रेस र माओवादी केन्द्रबीच सरकार गठबन्धन निर्माण गर्दा भएको सात बूँदे सहमतिका अतिरिक्त आलोपालो नेतृत्वको बिषयमा छुट्टै तीन बूँदै सहमति भएको दावी गरिदै आएको छ । सार्वजनिक नगरिएको गोप्य भनिएको उक्त तीन बूँदे सहमतिमा चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गरी कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउने समझदारी भएको कांग्रेसका एक मन्त्रीले बताए । ‘निर्वाचन हुने अवस्था भएमा बैशाख मसान्तसम्म दाहालकै नेतृत्वमा स्थानीय तहको निर्वाचन गर्ने तर नहुने अवस्था निर्माण भएमा चैत मसान्तभित्रै सरकार छाड्नुपर्ने भनाई सभापतिको थियो’ बैठकमा सहभागि एक मन्त्रीले भने ।