राजनीति

यसकारण उपेन्द्र यादव एक्कासि दिल्ली पुगे, यस्तो हुनसक्छ भित्री कारण !

काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव एक्कासि भारत भ्रमणमा निस्कएका छन् । अध्यक्ष यादवको पारिवारिक श्रोतका अनुसार केही समयदेखि दिल्लीमा उपचार गराइरहेका एकजना आफन्तको उपचारका लागि उनी दिल्ली पुगेका हुन् । उपचाररत आफन्तलाई भेट्न दिल्ली पुगेका भनिएका यादव मुलुकको राजनीतिक परिस्थिति निकै पेचिलो ढंगले अघि बढिरहेको अवस्थामा भारत जानुलाई निकै अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।

आइतबार साँझ सरकार र मधेसी मोर्चाबीच बालुवाटारमा भएको बैठकमा अध्यक्ष यादव पनि सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त बैठकमा सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेरै जाने संकेत दिएलगत्तै मोर्चाका नेताहरुले सरकारलाई कडा जवाफ दिने तयारी गरिरहेका छन् । मोर्चाका नेताहरुले सरकारले यदि आफ्ना मागहरुको सुनुवाई नगरी स्थानीय निर्वाचनको मिति घोषणा गरिए त्यसको आधाघण्टाभित्रै आन्दोलनको घोषणा गरिने धम्की दिइरहेका छन् ।

सत्तारुढ दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेसका अतिरिक्त प्रमुख प्रतिपक्षी दल एमालेले समेत निर्वाचन घोषणा गर्ने तयारीलाई निकै सकारात्मक रुपमा लिएका छन । प्रधानमन्त्री दाहालले सोमबारनै निर्वाचनको मिति घोषणा गर्ने बताएपनि मधेसी मोर्चासँगको बैठक र त्यहाँ भएको घम्साघम्सीपछि उनी झस्किएका खबरहरु समेत बाहिर आएका छन् । यही परिस्थितिका बीचमा अध्यक्ष यादव दिल्ली पुगेका छन् । भारतस्थित नेपाली दूतावासलाई समेत खबर दिएर दिल्ली पुग्नुभएका यादवले राजनीतिक भेटघाट गर्न सक्ने आंकलन गरिएको छ । यद्यपि, यादवले भने दिल्ली बसाईका बारेमा केही पनि खुलाएका छैनन् ।

यादवको दिल्ली भ्रमणको संकेत !
पूर्व परराष्ट्रमन्त्री समेत भैसकेका यादवको दिल्ली भ्रमणलाई भने मोर्चाकै मागका सम्बन्धमा दिल्लीसँगको म्यान्डेट लिन गएको हुनसक्ने आंकलन गरिएको छ । आइतबार साँझ प्रधानमन्त्री दाहालसँगको बैठकमा बस्नुअघिनै मोर्चाले पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले निर्वाचनको मिति घोषणा गरे त्यसको केही समयभित्रै कडा आन्दोलनको घोषणा गर्ने धम्की दिनु र त्यसको भोलिपल्टै मोर्चाका प्रभावशाली नेता समेत रहनुभएका यादव दिल्ली पुग्नु संयोग मात्र नभई राजनीतिक रुपमा निकै अर्थपूर्ण भ्रमण हुनसक्ने आंकलन गरिदैछ तर दिल्ली बसाईका क्रममा यादवले कस्तो पहल लिन्छन् त्यसैमा उनको भ्रमणको अर्थ रहने जानकारहरु बताउँछन् ।

नेपालमा जब–जब राजनीतिक संकट देखापर्छ, त्यसको लगत्तै एउटा निहुँ बनाएर दिल्ली दौडाहामा निस्कने नेताहरुको प्रवृतिनै भएकोले मोर्चाका मागका सम्बन्धमा दिल्लीमा गम्भीर बहस समेत हुनसक्ने आंकलन गरिदैछ, किनभने नेपालमा नयाँ संविधान जारी भएसँगै भारतले समेत मधेसी मोर्चाका मागलाई विशेष सम्बोधन गरेर मात्र संविधान जारी गर्न दबाब दिँदा नेपालीहरुले निकै दुःख पाएको इतिहास साक्षी छ । यस्तो परिस्थितिमा सरकार र मोर्चाबीच टक्कर बढ्नु र मोर्चाका नेताहरु दिल्ली धाउनु कुनै नौलो कुरा नभएको समेत राजनीतिक विश्लेषकहरु बताउँछन् ।