पु.समाचार

छुवाछूतको समस्या दक्षिण एसियाबाटै अन्त्य गर्नुपर्ने परराष्ट्रमन्त्री डा.महतको भनाई

प्रकाश शरण महत

काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत समस्या जतिसक्दो चाँडो अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

एसियन दलित अधिकार मञ्चद्वारा आज यहाँ आयोजित ‘दक्षिण एसियाका दलित तथा गैरदलित सांसद सम्मेलन’ को उद्घाटन गर्दै मन्त्री महतले दलित समुदायले भोगिरहेको छुवाछूतको समस्या उनीहरूको मात्र समस्या नभएर समग्र नेपालको समस्या भएको र त्यसको अन्त्य गर्नेतर्फ सरकार लागिपरेको बताए।

“अहिले नेपालका दलित समुदायले भोगिरहेको छुवाछूतको समस्या दक्षिण एसियाका अन्य मुलुकका दलितले पनि भोगिरहेका छन्, यो समस्यालाई दक्षिण एसियाबाटै अन्त्य गर्न ती देशबीच एकता हुन आवश्यक छ,” मन्त्री महतले भने।

दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिमलगायत उत्पीडनमा पारिएका सम्पूर्ण समुदायलाई अधिकार दिलाउन संविधान कार्यान्वयन गर्दै उनीहरूलाई राज्यको मूलधारमा ल्याउनुपर्नेमा उनले जोड दिए।

भारतीय सांसद डा नरेन्द्र जडहाभले दक्षिण एसियाभित्र हुने जातीय विभेद मात्र होइन, विश्वमा रहेका सबै प्रकारका विभेदको अन्त्य गरिनुपने बताए। जर्मनीका सांसद ओमिद नौरीपुरले दलित समुदायको शैक्षिकसँगै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा जोड दिनुपर्ने बताए।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, जर्मनी, मलेसियालगायतका सांसदको सहभागिता रहेको छ । सम्मेलन दलित समुदायको पेसा र जातीय आधारमा गरिने विभेदमा केन्द्रित हुने दलित आन्दोलनका अगुवा पदम सुन्दासले जानकारी दिए । रासस