समाचार

मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको उपत्यकामा आंशिक प्रभाव

काठमाण्डौ । सप्तरी घटनाको विरोध गर्दै शुक्रबार मधेसी मोर्चाले गरेको बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकामा आंशिक प्रभाव परेपनि तराई मधेसका जिल्लाहरु भने ठप्पै रहेका छन् । उपत्यकामा बन्द गराउँदै हिड्ने करिब ३० जनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बन्दको क्रममा ललितपुरको सातदोबाटोमा अवरोध पुर्याइरहेका करिब २ दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यता, काठमाण्डौको बल्खुबाट पनि बन्द गराउँदै हिड्न ४ जनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनीहरुले सडकमा बसेर सवारी साधन रोक्ने र तोडफोड गर्ने प्रयास गरेका कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गत फागुन २३ गते सप्तरीको राजविराजमा भएको मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडमा ४ जना प्रदर्शनकारी मारिएपछि मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोही कार्यक्रमअनुसार शुक्रबार मोर्चाले नेपाल बन्दको आह्वान गरेको जनाइएको छ ।