११ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले प्रश्न सोध्नेलाई धम्की दिएको भिडियो सार्वजनिक भएको छ ।
कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा प्रश्न उठाउने अस्पताल व्यवस्थापन समिति सदस्य धिरेन्द्र थापालाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको हो।
भिडियोमा सांसद खनालले औंला ठड्याउँदै कल्ले भन्यो ? प्रमाण छ ? हाल्छु, जाँक्दिन्छु समाएर अनि थाहा हुन्छ भनेको सुनिन्छ।
थापाका अनुसार उनले अस्पतालमा शान्ति सुरक्षा र काम गर्ने वातावरण नभएको विषय उठाउँदै गृह मन्त्रालयको भूमिकाबारे प्रश्न गरेका थिए ।
त्यसपछि सांसद खनालले अभिव्यक्ति दिएका हुन्। सांसद खनालसँग प्रतिक्रिया लिन खोजिए पनि उनी कार्यक्रममा व्यस्त रहेको भन्दै सचिवालयले पछि सम्पर्क गर्न आग्रह गरेको छ ।
थापाले भने सार्वजनिक भएको भिडियो अस्पतालको समस्याबारे भएको छलफलको एक अंश मात्र भएको र आफूले जनताको गुनासो राख्दा यस्तो प्रतिक्रिया आएको बताएका छन् ।





