११ साउन, काठमाडौं । नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला सभापति केदार भण्डारीद्वारा जारी विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
कांग्रेस सुनसरीले उक्त घटनालाई निन्दनीय भन्दै घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धान गर्न, दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
साथै, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।






