पु.समाचार

यसरी भए उल्टोसंग उपमहानगरपालीकाबाट गाँउपालिका

बाँके । सामान्यतया गाविस स्तरोन्नती भएर नगररपालिका, नगरपालिका स्तरउन्नती भएर उपमहानगरपालिका, अनी उपमहानगरपालिका स्तरउन्नती भएर महानगरपालिका हुन्छन् । तर शुक्रबार राजपत्रमा प्रकाशित स्थानीय तहको संरचना अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा रहेको एउटा वडा गाउँपालिकामा समावेश भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय नजिकै जोडिएको साविकको वडा नम्बर २३ इन्द्रपुर नयाँ संरचना अनुसार जानकी गाउँपालिकामा समावेश भएको छ । जिल्लास्थित राजनीतिक दलको सिफारिसमा स्थानीय तह प्राविधिक सहयोग समितिको सिफारिसमा आधारमा इन्द्रपुर गाउँपालिकामा समावेश भएको हो ।

जानकी गाउँपालिकाको केन्द्र साविकको खजुराखुर्द गाविस कार्यालय कायम गरिएको छ । जानकीको जनसंख्या ३७ हजार ८३९ रहेको छ ।

जानकी गाउँपालिकामा मधेसी समुदायको बाहुल्यता रहेको छ । जानकीमा साविकको नेपालगन्ज उपमहानगरपालिका २३ इन्द्रपुर, साईगाउँ, बेलभार, खजुराखुर्द, बेलहरी र गनापुर गाविस कार्यालय समावेश गरिएको छ ।

राजपत्रमा प्रकाशित स्थानीय तहको संरचना अनुसार बाँकेमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका सहित ६ वटा गाउँ पालिका कायम गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेको ईन्द्रपुर गाविस हटेको छ । हिरमिनिया गाविसको वडा नम्बर ७ थपिएको छ । यसअघि उपमहानगरपालिकामा २८ वडा रहेकोमा नयाँ  संरचनामा वडाको संख्या घटेर २३ पुगेको छ । गोरखापत्रका अनुसार नेपालगन्जमा नयाँ संरचना अनुसार वडा नम्बर २ र ३ गाभेर २, वडा नम्बर ४ र ९ गाभेर ३, वडा नम्बर १० र ११ गाभेर ८, वडा नम्बर १४ र १५ गाभेर ११ तथा वडा नम्बर १७ र १८ गाभेर १३ बनाइएको छ । हिरमिनियाको वडा नम्बर ७ नेपालगन्जमा गाभेर वडा नम्बर २३ बनाइएको छ ।  अब नेपालगन्जको जनसंख्या एकलाख ३८ हजार ९५१ पुगेको छ ।

कोहलपुर नगरपालिकामा साविकको शम्शेरगन्ज गाबिस गाभेर वडा संख्या १५ पु¥याइएको छ । कोहलपुरको जनसंख्या ७० हजार ६४७ पुगेको छ ।

खजुरा गाउँपालिकाको केन्द्र साविकको बागेश्वरी गाविस कायम गरिएको छ । खजुरामा साविकका बागेश्वरी, राधापुर, सितापुर, उढरापुर, सोनपुर, रनियापुर गाविस समेटिएको छ । सो गाउँपालिकाको जनसंख्या ५० हजार ९६१ छ ।

यसैगरी बनकटुवा, टिटिहिरिया, नौबस्ता र चिसापानी गाविस समेटर बनाइएको बैजनाथ गाउँ पालिकाको केन्द्र साविक बनकटुवा गाविस कायम गरिएको छ । सो गाउँपालिकाको जनसंख्या ५४ हजार ४१८ छ । बनकटुवा र नौबस्तालाई ३/३ वडामा विभाजन गरिएको छ ।

यसैगरी राप्ती सोनारी गाउँपालिकामा खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी समावेश गरिएको छ । ५९ हजार ९४६ जनसंख्या रहेको गाउँपालिकाको केन्द्र साविकको कचनापुर गाविस कायम गरिएको छ ।

कटकुइया, लक्ष्मणपुर, कालाफाटा, नरैनापुर, मटैया र गंगापुर गाविस समावेश गरि निर्माण गरिएको नरैनापुर गाउँपालिकाको केन्द्र नरैनापुर गाविस कार्यालय कायम गरिएको छ । सो गाउँपालिकाको जनसंख्या ३४ हजार ९४२ छ । यस्तै होलिया, बेतहनी, कम्दी, बनकट्टी र हिरमिनिया गाविस समावेश भएको डुडुवा गाउँपालिकाको केन्द्र साविक बनकट्टी गाविस कायम गरिएको छ ।

डुडुवाको जनसंख्या ३७ हजार ४६० छ । मधेसी समुदायको बाहुल्यता रहेका डुडुवा, जानकी र नरैनापुरमा जिल्लामा कायम रहेका अन्य गाउँपालिका भन्दा धेरै कम जनसंख्या रहेको छ । जिल्ला विकास समिति बाँकेका सूचना अधिकारी समेत रहेका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले गाउँपालिकामा समावेश गरिएका गाविस मध्ये कार्यरत सबैभन्दा सिनियर सचिवलाई गाउँपालिकाको कार्यकारी अधिकृत तोक्ने कार्यादेश केन्द्रबाट प्राप्त भएको बताए । सिनियरलाई तोक्ने भनेपछि शुक्रबारनै निश्चित नभएको उनले बताए ।

जिल्ला विकास समिति बाँकेको साईनबोर्ड परिवर्तन गरी नयाँ संरचना अनुसार जिल्ला समन्वय समितिमा परिणत गरिएको छ ।