पु.समाचार

मधेसी मोर्चालाई फकाउँदै कांग्रेस, देउवा र ठाकुरको यस्तो कुराकानी

काठमाडौं । सत्तारुढ कांग्रेसले असन्तुष्ट मधेसी मोर्चाका नेताहरूलाई मनाउने प्रयास थालेको छ । पदाधिकारी, पूर्वपदाधिकारीसहितका वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकले संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको भोलिपल्टै सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । स्थानीय तहको चुनाव घोषणाप्रति असन्तुष्टि जनाइरहेको मोर्चाको घटक तमलोपा अध्यक्ष ठाकुरसँग देउवाले संविधान संशोधनका लागि पहल गर्ने भन्दै सरकारलाई दिएको समर्थन फिर्ताको अडानबाट पछाडि फर्किन आग्रह गरेका हुन् । साथै, संशोधनका लागि आफूहरू लागेको जानकारी गराउँदै निर्वाचनको विरोध नगर्न आग्रह गरेका थिए ।
के भने देउवाले ?
देउवाले देशलाई राजनीतिक निकास दिनकै लागि कांग्रेस, माओवादी, मोर्चा र राप्रपासहितको सरकार बनेको भन्दै संविधान संशोधनका पक्षमा कांग्रेस दृढ भएर उभिने आश्वासन ठाकुरलाई दिएका थिए । ‘असन्तुष्ट पक्षलाई पनि मूलधारमा ल्याउन यो सरकार बनेको हो । त्यसैले संविधान संशोधन पारित गरेर राजनीतिक निकासको बाटोमा कांग्रेस दृढतापूर्वक लागिरहेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी कांग्रेस नेता फर्मुल्लाह मन्सुरले भने, ‘त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ताको अडान फिर्ता लिनुस् र सहमतिको वातावरण बनाएर संशोधन पारित गर्ने र चुनावमा जाने बाटोमा लागौँ ।’
महन्थले भने– राजनीतिक वातावरण भएन
सोमबारको नयाँ पत्रिकामा लेखिएको छ, तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरूको बटमलाइन भए पनि मुख्य दलहरू जिम्मेवार नभएको बताएका थिए । ‘तपाईंहरू संविधान संशोधन गर्नुपर्छ भन्नुहुन्छ, तर वातावरण बनाउनुहुन्न । हाम्रो बटमलाइन नै संविधान संशोधन हो,’ ठाकुरले भने, ‘संविधान संशोधन गरेपछि राजनीतिक वातावरण बन्छ । संविधान संशोधन नभईकन अब हामी सरकारलाई समर्थन गर्न सक्दैनौँ ।’

उनले समर्थन फिर्ताको अल्टिमेटम नै सरकारलाई दिएको समर्थन फिर्ता भएको दाबी गरे । ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छौँ । पहिले पनि सरकारमा थिएनौँ, विपक्षमा थियौँ । अहिले पनि हामी विपक्षमै छौँ,’ ठाकुरले नयाँ पत्रिकासँग भने । यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै उनले निर्वाचन स्थगितको मागसमेत गरे । सप्तरीमा राज्यले अत्याचार गरेको, हिंसाबाट दबाउन खोजिएको भन्दै यस्तै भए तराईमा गम्भीर अवस्था आउने चेतावनी उनले देउवालाई दिए ।

ठाकुरले राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेअनुसारको स्थानीय तहको संख्याले जनसंख्याका आधारमा तराईको प्रतिनिधित्व नभएको असन्तुष्टि व्यक्त गरेका थिए । उनको भनाइपछि देउवाले राजनीतिक सहमति जुटाएर जाँदा फेरि पनि स्थानीय तहको संख्या बढाउन सकिने भन्दै ठाकुरलाई आश्वस्त पार्न खोजेका थिए । राजनीतिक वातावरण बनाएर आफू यसका लागि पहल गर्न तयार भन्दै देउवाले ठाकुरलाई मनाउन खोजेका थिए । तर, ठाकुरले ‘अहिलेसम्म भन्नुभयो, तर केही गर्नुभएको छैन । गरेर देखाउनुस् । अनि पत्याउँला’ भनेका थिए । आफूहरू अहिले पनि आन्दोलनमा रहेको भन्दै उनले संविधान संशोधन गर्ने र जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनेजस्ता बोलेको कुरालाई पूरा गरेपछि मात्र वातावरण सहज बन्ने बताएका थिए । सप्तरी घटनापछि मोर्चाले संविधान संशोधनसहितका विषयमा आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएको थियो ।

दुईतिहाइका लागि पहल गर्ने देउवाको आश्वासन
देउवाले पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा पनि सरकारमा सहभागी भएको भन्दै फोरम लोकतान्त्रिकसहितका साना दललाई सरकारमा सहभागी गराएर संविधान संशोधनमा दुईतिहाइ पुर्या‍उने पक्षमा आफू लागेको बताएका थिए । ‘हिजो कमल थापाकै धरमर थियो, अहिले आएका छन् । विजयकुमार गच्छदारलाई सरकारमा ल्याउँदा आश्चर्य हुँदैन,’ मन्सुरले भने, ‘राजनीतिक दलको सहमतिको सरकार बनोस् भन्नेमा कांग्रेस लागेको छ । संसद्मा दुईतिहाइ संख्या पुर्या‍एर संविधान संशोधन गर्न कांग्रेस लाग्छ ।’ मोर्चाका अन्य घटकका नेता काठमाडौं फर्किएपछि देउवाले पुनः छलफल गर्ने तयारी गरेका छन् । भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि पनि सहभागी थिए ।