राजनीति

कञ्चनपुर घटनामा किन माफी मागेन भारतले ? यस्तो छ भित्री कारण !

काठमाण्डौ । गत फागुन २३ गते कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएपछि यसबेला भारतले नेपालसँग माफी माग्छकि माग्दैन भन्ने बहसहरु उत्कर्षमा पुगेका छन् । नेपाल भारतबीचको सीमामा कल्भर्ट निर्माणको विषयलाई लिएर प्रदर्शनरत नेपालीहरुमाथि गोली चलाउँदा गौतमको मृत्यु भएको थियो ।

भारतको सो ज्यादतिको विरुद्धमा यसबेला चौतर्फी विरोध भैरहेको छ । सर्वत्र रुपमा भारतले माफी माग्नुपर्ने विषयमा कुराहरु उठिरहेका छन् । नेपाली भूमिमा पसेर नेपालकै हत्या गर्ने एसएसबीका जवानहरुलाई भारत सरकारले कार्वाही गर्ने नगर्ने उसको कुरा हो तर समग्र कुटनीतिक आचारसंहिताका मापदण्डहरुलाई हेर्ने हो भने भारतले नेपालसँग माफी माग्नुपर्छ ।

यही प्रसंगमा एउटा इतिहासको घटनालाई जोड्न सकिन्छ । सन् १९६० को दशकमा चिनियाँ सेनाले नेपालको मुस्ताङ जिल्ला एक नेपाली युवाको हत्या गर्यो । त्यसको लगत्तै चीनले नेपाल सरकारसँग माफी माग्यो । त्यसको करिब ५ दशकपछि नेपाल र भारतबीच यस्तै घटना घटेको छ । यो सवालमा भारतले अहिलेसम्म माफी मागेको छैन ।  यद्यपि, घटना घटे लगत्तै काठमाण्डौस्थित भारतीय दूतावासले गौतमको मृत्यु भारतीय सीमा सुरक्षा बलले गरेको होइन भन्ने विज्ञप्ति जारी गर्यो भने त्यसको भोलिपल्ट भारतीय विदेश मन्त्रालयको निर्णय अनुसार मृत्यु भएका गौतमको पोष्ट मार्टम रिपोर्ट मागेको छ । त्यसयता भारतले कुनै प्रतिक्रिया दिएको छैन । यो सवालमा नेपालमा भने भारतीय ज्यादतिका विरुद्धमा चर्को आवाज उठिरहेको छ ।

नेपालका प्रधानमन्त्रीको कमजोर पहलकदमी
कञ्चनपुर घटना घटेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले सो घटनाको विषयमा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयलाई विशेष जिम्मेवारी दिँदै घटनाको अनुसन्धान र कुटनीतिक पहलकद्मी लिन जिम्मेवारी सुम्पियो ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता पनि गरे तर प्रधानमन्त्रीले भने सिधै प्रभावकारी पहलकद्मी लिन नसकेको जनाइएको छ । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारमार्फत छलफल गरिएको भनिएतापनि उनले प्रभावकारी कदम चाल्न नसक्दा भारतले तत्काल माफी माग्ने स्थिति बनेको देखिदैन ।

यो घटनामा नेपाललाई भारतले फसाइदिन सक्ने समेत आंकलन गरिदैछ । कुटनीतिक रुपमा भारतले प्रधानमन्त्री दाहाललाई समेत फसाइदिन सक्ने संकेत दिएको बताइन्छ । यद्यपि, सुरक्षा सल्लाहकारमार्फत सो घटनाप्रति नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको बताइएको छ ।
चिनियाँ सेनाले नेपाली भूमिमा पसेर एक नेपालीको हत्या गर्ने वित्तिक्कै तत्कालीन चिनियाँ राष्ट्रपति चाउ एन लाइले नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालासँग माफी मागेका थिए । तर यसबेला भने प्रधानमन्त्री दाहालसँग भारतीय प्रधानमन्त्री मोदीले माफी माग्नुको त कुरै छाडौ टेलिफोन वार्ता समेत गरेका छैनन् ।

यसबाट के प्रस्ट हुन्छ भने भारतले नेपाललाई हेर्ने दृष्टिकोण निकै हेपाहा प्रवृतिबाट ग्रस्त छ भने यता प्रधानमन्त्री दाहालको नालायकीपन समेत झल्किन्छ । यो कुरा विगतमा दुई देशबीचका राजनीतिक र कुटनीतिक सम्बन्धका इतिहासले समेत पुष्टि गर्छ ।

घटना भएलगत्तै अतालिएका देखिन्थे प्रधानमन्त्री !

कञ्चनपुर घटनालगत्तै सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्यो । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरियो । पत्रकार सम्मेलनमा बोल्दै गर्दा प्रधानमन्त्री निकै अतालिएका र भारतसँग नतमस्तक देखिन्थे । उनले बेला बेलामा यो घटनाको व्यवस्थापनमा आफ्नो जिम्मेवारी भन्दा पनि गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयको जिम्मेवारी भएजस्तो गरी सबै उतै जिम्मेवारी सुम्पेको छु, जस्तो गरी प्रस्तुत भएको देखिन्थ्यो ।

सो पत्रकार सम्मेलनको पूरै भिडियो प्रधानमन्त्री पुत्र प्रकाश दाहालले नै सार्वजनिक गरेका छन् । जो युट्युबमा पनि सुरक्षित छ । त्यसकारण, प्रधानमन्त्री दाहालको कमजोर पहलकद्मीका कारण भारतले तत्काल माफी माग्नुपर्ने घटनालाई विषयान्तर गर्न भारतले पूरै मौका पाएको छ । यो नेपालका लागि सुःखद खबर नभएको एकथरी विश्लेषकहरु बताउँछन् ।
यस्तो छ पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले बोलेको भिडियोः