राजनीति

आयोगले १२ जिल्लाको मतपत्र छाप्ने काम सक्यो

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्ने काम गरिरहेको आयोगले जनाएको छ । ‘बिहीबारसम्म १२ जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न भएको छ’, आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले अन्नपूर्णसँग भने, ‘अन्य जिल्लाका लागि पनि मतपत्र छाप्ने काम रातदिन भइरहेको छ ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, अहिलेको स्थिति हेर्दा हामीले तोकेको समयभित्रै मतपत्र छाप्ने काम सम्पन्न गर्न सकिने अवस्था छ ।’
आयोगले केही जिल्लामा दर्ता हुन छुटेका दललाई पुनः दर्ता गरेर चुनावचिह्न दिने निर्णय गरेको छ ।

डोल्पामा कांग्रेस, ९ जिल्लामा राप्रपा र केही जिल्लामा राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी पार्टीको दर्ता छुटेकाले उनीहरूले स्वतन्त्र हैसियतमा मात्र चुनाव लड्ने अवस्था थियो । तर दलहरूले आयोगमा निवेदन दिएपछि उनीहरूको पुनः दर्ता गरेर दलगत नै चुनावचिह्न दिइएको जानकारी आयोग प्रवक्ता शर्माले दिए ।

यता आयोगले मतदानअघि र मतदानपछिको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखबीच बिहीबार भएको छलफलमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनमा सुरक्षा कमजोरी हुन नदिनेतर्फ सतर्क रहन निर्देशन दिएका थिए ।

प्रमुख आयुक्त यादवले मतदान कार्यपछिको मतपेटिका ढुवानी, मतगणना कार्यको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी प्रवक्ता शर्माले दिए ।