अन्तर्राष्ट्रिय

यत्र, तत्र, सर्बत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना किन ?

उनी कासीमा हुँदा कष्ट हुन्छ, क्योटोमा भए पनि समस्या छ, केही बोले पनि हैरानी छ भने नबोले पनि समस्या छ । यदि उनी आफूलाई युपीका छोरा बताउँछन् भने मानिसहरू सोध्छन्– उनका कति आमा छन् ? भारत माता, गौमाता र गंगा माता‘ । मोदीका प्रशंसक उनलाई विनाकारण निसाना बनाइएको जस्तो ठान्छन् ।

आलोचना झेल्ने विषयमा प्रधानमन्त्री मोदीले आफैँ त पर्याप्त सहिष्णुता देखाएका छन्, तर उनका आलोचकले भयावह ‘किलर इन्स्टिंक्ट’ को सामना गर्नु परिरहेको छ ।

केही मान्छे मोदीको यति धेरै विरोधमा किन छन् ? यो सवाल कैयौँ मानिसको मनमा उठिरहेको छ । जो मानिस सोसल मिडियामा मोदीविरोधीका आमा, बहिनीप्रति तत्काल सम्मान प्रकट गर्छन्, यो लेख उनीहरूका लागि होइन ।

अगाडिको विचार उनीहरूका लागि हो, जो बुझ्न चाहन्छन् कि यति धेरै लोकप्रिय र ठूलो बहुमतबाट जित्नेवाला नेताको यति धेरै आलोचना किन ? यसको सुरुवात त्यतिखेर भएको थियो, जब संसदीय लोकतन्त्रवाला देशमा एनडिए या बिजपीको होइन, मोदीको सरकार बनाउने प्रयास सुरु भएको थियो । सन् २०१४ मा ‘हरहर मोदी’ को नारा लाग्यो । त्यसको नौ महिनापछि दिल्ली विधानसभा निर्वाचन हार्नासाथ ‘थरथर मोदी’ सुन्नुपर्यो‍ ।

जर्ज बुसले सेप्टेम्बर ११ पछि भनेका थिए— या तपाईंहरू हाम्रो साथ दिनुहोस् या दुश्मनको । भारतमा यस्तै रेखा सन् २०१४ मा कोरियो, जो लगातार झन्झन् गहिरो हुँदै गयो । देशमा नयाँ व्याकरण रचियो, जसमा भारत माता, मोदी, जय श्रीराम, देशभक्ति र गौमाता सबै पर्यायवाची शब्द बनाइयो ।

मुसलमान, पाकिस्तान, सेक्युलर, वामपन्थी र राष्ट्रद्रोही तिनका विपरीतार्थक शब्द बने । यो आफैँ या गल्तीले भएको होइन । मोदीमाथि आस्था राख्ने आस्तिक र उनीमाथि प्रश्न उठाउने नास्तिक । यस आधारमा सिंगो देशलाई दुई खेमामा बाँडियो । बीचको स्थान समाप्त भयो ।

यस्तो यस विश्वाससाथ गरिएको थियो कि आस्तिक बहुसंख्यक हिन्दू हुन् । यसकारण नास्तिकहरूको समूल विनाशबाट सत्ता मजबुत हुन्छ । यसको अर्थ राष्ट्र मजबुत हुन्छ । अर्थात् हिन्दू मजबुत भयो भने हाम्रा नेता पनि मजबुत हुन्छन् किनकि नयाँ व्याकरणअनुसार सबै एक हुन् ।

तर, युपी र हरियाणाका जाट यसलाई यसैगरी देख्दैनन् । गुजरातका पटेल असहमत छन्, महाराष्ट्रका मराठा बेखुस छन् । दलितका आफ्नै दुःख छन् । एक नेता, एक धर्म, एक राष्ट्रको समूह स्वरमा कैयौँ विवादित स्वर छन् ।

आलोचकलाई वामपन्थी, मुसलमान, देशद्रोहीजस्ता नाम दिएर पछार्ने कोसिस प्रायः सफल र कैयौँपटक असफल हुने गरेका छन् । जति मानिसलाई वामपन्थी बताइँदै छ, यदि साँच्चै यो सत्य हुँदो हो त सीताराम येचुरी युपीमा मोदीलाई कडा टक्कर दिइरहेका हुने थिए ।

देशमा सत्ताको शीर्षमा बसेका प्रधानमन्त्री पदलाई व्यावहारिक रूपमा अमेरिकी राष्ट्रपतिको कुर्सीमा परिणत गरिसकिएको छ । उनलाई देशका हरेक सफलताको श्रेय लिनु छ । खादीको बिक्री होस् या सेनाको बहादुरी या नोटबन्दी । फेरि असफलताको भारी कसले बोक्ने ?

सूचना प्रसारण मन्त्रालयको क्यालेन्डरका १२ पानामा जसका तस्बिर छापिन्छन्, खादीको क्यालेन्डरमा जसले गान्धीको स्थानमा चर्खा चलाउँछ, जो पूरै देशलाई आफ्नो मनको कुरा बताउँछ, जो राज्यहरूको चुनाव आफ्नो नाममा लडाउँछ, ऊ आलोचनाबाट कसरी जोगिन सक्छ ?

मोदीभन्दा पहिले मानिसहरू व्यवस्थालाई दोषी ठहर्या‍उँथे । व्यवस्थाको अर्थ थियो— धेरै मानिस । जब सबै शक्ति एकै व्यक्तिसित समेटिन्छ त यस्तै हुन्छ । मोदीजी पनि यसबारे राम्रै परिचित छन् तर सायद उनका प्रशंसक छैनन् ।

(बिबिसी हिन्दीमा प्रकाशित, नयापत्रिकाबाट )