अन्तर्राष्ट्रिय

फ्रान्सद्वारा राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठकको आह्वान

एजेन्सी । फ्रान्सले मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न मङ्गलबार आग्रह गरेको छ ।

इदलिब सिरियाली विद्रोहीको प्रभाव क्षेत्र हो । मङ्गलबार बिहान इदलिबको एउटा बस्ती नजिकै रासायनिक विस्फोट गराइएको र सो घटनामा ११ बालबालिकासहित ५८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । उक्त संस्थाले घटनामा सत्तापक्षको सेनाको हात रहेको आशङ्का गरेको छ ।

प्रारम्धिक सूचनाअनुसार विद्रोही नियन्त्रित इदलिब प्रान्तमा मङ्गलबार बिहान गम्भीर प्रकारको रासायनिक पदार्थको प्रयोग गरी आक्रमण भएको र यसबाट बालबालिकासहित ठूलो सङ्ख्यामा सिरियाली सर्वसाधारणको मृत्यु भएको फ्रान्सका विदेशमन्त्री आयरुल्टले बताए ।

यसबारे सुरक्षा परिषद्मा छलफल हुन जरुरी देखिएकोले तत्काल बैठक बोलाउन राष्ट्रसङ्घलाई आग्रह गरे । उनले घटनालाई घृणास्पद यस घटनाको निन्दा गर्दै यसमा सम्बद्ध सबै राष्ट्र चुप रहनु वा खम्चिन नहुने बताएका छन् ।

यद्यपि सिरियाली वरिष्ठ सैनिक अधिकारीले घटनामा सेनाको संलग्नता नरहेको बताएका छन् ।