राजनीति

नयाँ आईजीपी अर्यालले दिए यसरी गुण्डागर्दी सखाप पार्न कडा निर्देशन

काठमाण्डौ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महानगरीय प्रहरी कार्यालय, रानीपोखरी मातहत सिनियर प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधन गरेका छन् ।

सो क्रममा महानिरीक्षक अर्यालले आम नागरिकले निर्भयतापूर्वक आफ्नो मताधिकार प्रयोग गर्न पाउने नैसर्गिक हकलाई प्रत्याभुत गराउनु नेपाल प्रहरीको दायित्व भएकोले उक्त तथ्यलाई दायित्व बोध गरी सफलतापूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न गराउनको लागि उच्च मनोबलका साथ कर्तव्यनिष्ठ भई निर्वाचन सुरक्षालाई प्राथमिकतामा राखी प्रहरी परिचालन हुनको लागि निर्देशन दिएका थिए ।

उपत्यकाको समग्र शान्ति सुरक्षा थप मजबुद बनाउनको लागि योजनबद्ध रूपमा प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा खलबल्याउने बिभिन्न तत्वहरूलाई निस्तेज गर्ने, गुन्डागर्दी पूर्ण रूपमा नियन्त्रण गर्ने, उपत्यका भित्रने नाकाहरूमा बिशेष चेकजाँचको व्यवस्था मिलाउने लगायतका विषयहरूमा विशेष निर्देशन दिए ।
महानगरीय प्रहरी सम्पूर्ण नेपाल प्रहरीको प्रतिबिम्व भएकोले महानगरीय प्रहरीले प्रदान गर्ने प्रहरी सेवा, प्रहरी आचरण र अनुशासन नमुना योग्य हुनुपर्ने बताउनु हुदै शान्ति सुरक्षा र अपराध रोकथाम तथा नियन्त्रणमा कुनै पनि किसिमको सम्झौता नगर्न निर्देशन दिए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख, निमित्त प्रहरी आयुक्त, प्रहरी नायब महानिरीक्षक, बम बहादुर भण्डारीले संगठन प्रमुखबाट भएका निर्देशनहरू अक्षरश पालना गर्दै काठमाण्डौ उपत्यकाको शान्ति सुरक्षा तथा प्रहरी सेवामा थप प्रभावकारिता ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।